सुनौली नाकाबाट उद्धार गरिएकी २३ दिनकी सुत्केरीको दिल्ली–नेपाल यात्रा ।

प्रकाशित मिति:

काठमाडौँ —  भारत सरकारले गएको चैत १२ मा तीन साताका लागि देशभर ‘लकडाउन’ को घोषणा गर्‍यो । जसरी हुन्छ नेपाल फर्किने उद्देश्यले लक्ष्मी परियार (२६) को परिवारले नयाँ दिल्ली छाड्यो । सीमा नाका बन्द भए पनि आफ्नै जन्मभूमि छिर्न नपाइएला भन्ने उनीहरुले चिताएका थिएनन् । जसोतसो सुनौली नाकासम्म आएका उनीहरु तीन दिन त्यहीँ अलपत्र परे । अलपत्र पर्नेमा लक्ष्मीको परिवार मात्र थिएन । उनीहरुसँगै तीन सय जनाभन्दा बढीले भोकैप्यासै दिनरात काटे ।

तीन साताकी सुत्केरी लक्ष्मीले काखमा शिशु च्यापेरै सडकमा रात बिताइन्। सीमामा अलपत्र परेकालाई पहिलो दिन भारत सरकारले नौतनुवा लगेर स्थानीय क्याम्पसमा क्‍वारेन्टाइनमा राखेपछि लक्ष्मीको माइत पुग्ने सपना अधुरो भयो। नाकामा सुत्केरी अलपत्र परेको समाचार ईकान्तिपुरमा प्रकाशित भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको पहलमा बुधबार उनको उद्धार भयो। उनी अहिले नगरपालिकाले निर्माण गरेको क्‍वारेन्टाइनमा परिवारसहित आश्रय लिइरहेकी छन्। ‘बल्ल आरामले श्वास लिँदैछु,’ लक्ष्मीले भनिन्, ‘माइतै पुगे जस्तो भयो।’ बिहीबार उनी सुत्केरी भएको २३ दिन पूरा भयो। दश वर्षदेखि नयाँ दिल्लीमा पति र दुई सन्तानका साथ बसिरहेकी उनी घर र माइत नआएको धेरै समय भइसकेको थियो। पति काम गर्थे। उनी दुई छोरीको रेखदेख गरेर बसिरहेकी थिइन्। ‘यसपाली छोरा जन्मियो,’ उनले भनिन्, ‘इन्डियामा लकडाउन भएपछि माइत गएर आराम गर्छु भनेर आएँ। आफ्नै देश छिर्न पाएनौं।’ तीन साता लामो लकडाउन कटाउन समस्या हुने भएपछि घरै जाउँ भनेर कष्टपूर्ण यात्रा गरेर यहाँसम्म आएको उनले सुनाइन्। मार्च २३ मा एउटा बस फेला पारे। उनले शिशु च्यापिन्, श्रीमान् मनोजले दुई छोरी डोर्‍याए र नेपालतर्फ लागे। दिल्ली छाड्ने बेला उनी सुत्केरी भएको १३ दिन मात्रै भएको थियो। आराम गर्नुपर्ने समयमा उनलाई यात्रा गर्नुपरेको थियो। त्यो पनि घर पुगिन्छ कि पुगिँदैन भन्ने अनिश्चतताका बीचमा। उनीहरु चढेको बस सीमासम्म आइपुगेन। ‘सात वटा गाडी फेर्नुपर्‍यो,’ मनोजले भने, ‘६० किलोमिटर जति पैदलै हिँड्नुपर्‍यो।

‘दुई छोरी पनि सानै छन्। उनीहरु पनि ठूला मान्छेले जस्तो हिँड्न सक्ने कुरा भएन। म पनि बच्चा काखमा च्यापेर हिँड्न सकिनँ,’ मनोजले बोलिनसक्दै लक्ष्मीले आफ्नो दु:ख पोखिन्, ‘१० पाइला हिँड्दै, बस्दै आएँ।’ हिँड्न नसकेका कारण धेरै समय लागेको उनले सुनाइन्। बसमा भने उनलाई सजिलो भएको थियो। भारतीय सेना र प्रहरीले बालबच्चासहित देखेर उनलाई सिट मिलाइदिएका थिए। ‘गोरखपुरबाट सुनौली आएपछि सार्‍है दु:ख पाइयो। तर, दशगजा नपुग्दै भारतीय प्रहरीले रोक्यो,’ उनले भनिन्।

उनीहरु सुनौली पुग्दा सीमा वारिपारि दुवैतर्फको बजार बन्द थियो। स्थानीय पनि घर बाहिर निस्केका थिएनन्। सडकमा थिए त देश फर्किने आशमा सीमा नजिक आएर पनि अलपत्र परेका अन्य नेपाली मात्रै। अरुले जस्तै उनीहरुले पनि घर फिर्तीका लागि भारतीय प्रहरीसँग अनुनय–विनय नगरेका होइनन्। ‘रुँदै घर जान पाउँ भने, तर छाडेनन्,’ लक्ष्मी केहीबेर मौन बसिन्।

नाकामा आइपुगेको पहिलो दिन भारतीय सुरक्षाकर्मीले उनीहरुलाई नौतनहवाको एक विद्यालयमा बनाइएको क्‍वारेन्टाइनमा राखेको थियो। ‘क्‍वारेन्टाइनमा राम्रै खानपान थियो,’ मनोजले भने, ‘आरामले सुत्ने व्यवस्था थियो।’ आफू र बच्चालाई दूधसँगै खाना दिएको लक्ष्मीले बताइन्। आफूलाई क्‍वारेन्टाइनमा राम्रो व्यवहार गरिएको उनको भनाइ छ।

त्यही क्रममा क्‍वारेन्टाइनमा रहेका तीन सय हाराहारी नेपालीले नाकामा खटिएका केही प्रहरीलाई धकेलेर भए पनि बोर्डर पार गर्ने सल्लाह गरे र सबै जना नाका क्षेत्रमा आए। तर, उनीहरुको प्रयास सफल भएन। उल्टै प्रहरीले लाठी चार्ज गर्न थाल्यो। त्यसबेला बालबच्चा काखी च्यापेर कुनामा लुकेर जोगिएको लक्ष्मीले सुनाइन्। ‘उता गयो, उतैका प्रहरीले लखेट्ने, यता आयो आफ्नै देशकाले,’ उनले भनिन्, ‘पहिलोपटक यस्तो पीडा भोगियो, जीवनभरलाई नमिठो सम्झना भयो।’

उनीहरु त्यस रात बेलहिया नाकास्थित सडकमै बसे। अन्य नेपाली पनि त्यहीँ थिए। ‘नेपालको प्रहरीले पानी पनि सोधेनन्,’ उनले दुखेसो पोखिन्, ‘सुत्केरी शरीर, साना बालबच्चा, आफ्नै बुद्धि बिग्रिएर देश आएछु जस्तो भयो।’ दिल्लीमै छँदा उनीहरुलाई बच्चासँग यात्रा नगर्न साथीहरुले सुझाव दिएका थिए। त्यसबेला ति साथीहरुलाई झलझली सम्झिएको उनले सुनाइन्।

‘एउटै लुगामा रगत बगिरहेको थियो,’ लक्ष्मीले नाकामा अलपत्र पर्दाको अवस्था बताइन्, ‘खानेकुरा केही थिएन बच्चा रुवाउँदै बस्नुपर्‍यो।’ सुत्केरी अवस्थामा घर र माइतमा आराम गर्ने चाहनाले श्रीमान्लाई उनी आफैंले आग्रह गरेर हिँडेकी थिइन्। त्यसबेला नयाँ दिल्लीमा पनि कोरोना भाइरस (कोभीड–१९) को जोखिम थियो। त्यही कोरोना संक्रमणको त्रासले आफ्नो मुलुक प्रवेशमा पनि छेकबाँध लाग्ला भन्ने नसोचेकी उनको परिवारको सीमा क्षेत्रमै तीन दिन बस्नुपर्‍यो। दोस्रो र तेस्रो दिन उनीहरुलाई क्‍वारेन्टाइनमा राखिएन। अन्नत: चौथो दिन मात्रै लक्ष्मीको परिवार नेपाल भित्रन पायो।

नगरपालिकाको क्‍वारेन्टाइनमा बसेपछि सुत्केरी आहार मिलेको छ। घ्यू र पोषिलो खाना पाएकोमा खुसी व्यक्त गरिन्। यहाँ नआउन्जेल उनीहरुले बाटोमा कहीँ खिचडी खाए, कहीँ केराले भोक मेटे। ‘गाडी चढेपछि भारतीय सहयोगीले खानेकुरा दिन्थे, त्यही खाइयो,’ उनले सुनाइन्, ‘सुत्केरी आहारा कहाँ मिल्थ्यो र?’ यात्राका क्रममा बच्चालाई दूध चुसाउन भने गार्‍हो भएको उनले बताइन्। सीमा पारि उनीहरु पीडामा थिए भने यता उनीहरुका आफन्त छटपटाइरहेका थिए।

बेलहिया नाकामा रहँदा उनीहरु कहिले ढुंगामाथि बसेर समय कटाए त कहिले सडकपेटीमा पल्टिए। यही अवस्था देखेर बुधबार जिल्ला प्रशासन र तिलोत्तमा नगरपालिका उनीहरुको उद्धार गर्ने निर्णयमा पुगेका थिए। ‘तिलोत्तमा लक्ष्मीको घर र माइती दुवै हो,’ नगरप्रमुख बासुदेव घिमिरेले भने, ‘भारतीय प्रशासनसँग छलफल गरेर उनको परिवारलाई यहाँ ल्याएका हौं।’ उनीहरुलाई तिलोत्तमा–२ स्थित दुर्गादत्त माविमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको छ। लक्ष्मीको माइती घर तिलोत्तमा–८, चार नम्बरमा पर्छ। घर भने तिलोत्तमा–१०, कान्छीबजारमा छ।

अब १४ दिन क्‍वारेन्टाइनमा बस्नुपर्ने भएपछि लक्ष्मीलाई माइतीघर, आमा र घरको न्यास्रो बढेको छ। ‘यहाँ बस्न बाध्य छु, जान पाउँदिन,’ उनले भनिन्, ‘आफ्नै आँगन बिरानो भयो।’ उनकी ठूली छोरी तीन वर्षकी भइन्। अर्की डेढ वर्षकी छन्। अहिले क्वारेनटाइनमा लक्ष्मीलाई ज्वानोको झोलसहित फलफूल, दूध, अण्डा, मासु, घ्यूको प्रबन्ध मिलाइएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए। मधवलीया स्वास्थ्य चौकी प्रमुख रामेश्वर ढकालको नेतृत्वमा खटिएको टोलीले उनीहरुको स्वास्थ्य अवस्थाबारे निगरानी गरिरहेको छ।@ekantipur