५ मिलियन रियाल दिए नेमारले कोराना विरुद्ध लड्न

प्रकाशित मिति:

काठमाडौं, चैत २१ : ब्राजिलियन सुपरस्टार नेमार जुनियरले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्का लागि ५ मिलियन (७ लाख ५५ हजार युरो) ब्राजिलियन रियाल आर्थिक सहयोग गरेका छन्।

आफूले उपलब्ध गराएको सो रकम युनिसेफ र ब्राजिलका कोरोना भाइरस पीडितका लागि भएको नेमारले बताएका छन्। सुरुमा नेमारले आफ्नो नाम नै नराखी सहयोग गरेका थिए। तर, ब्राजिलियन टेलिभिजन एसबिटीले ‘आफ्ना राष्ट्रिय टिमका स्ट्राइकर नेमारले सहयोग गरेको’ खुलासा गरेको थियो।

एसबिटी टिभीको कार्यक्रममा भनिएको थियो, ‘उनी आफ्नो सहयोगको विषयमा खुलासा गर्न चाहँदैन थिए। तर, कसैले यस्तो राम्रो काम गरिरहेको छ भने त्यसलाई किन लुकाउने? त्यसैले हामीले उनको नाम सर्वाजनिक गरेका हौं। हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं, यसले अन्य खेलाडीलाई पनि प्रोत्साहित गर्न सक्छ।’

कोरोना भाइरस पीडितकै लागि फुटबलरहरु क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, रोबर्ट लेवान्डोस्की र प्रशिक्षणक पेप ग्वार्डिओलाले १ मिलियन युरो सहयोग गरेका छन्। यस्तै, इटालियन क्लब युभेन्ट्स, स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको मड्रिड, जर्मन क्लब बायर्न म्युनिख र बोरुसिया टर्डमन्डका खेलाडीहरूले क्लबका अन्य कर्मचारीहरुलाई तलब दिन आफ्नो तलब कटौती गर्न स्वीकृति दिएका छन्।