फ्रान्समा संक्रमित संख्या चीनमा भन्दा धेरै

प्रकाशित मिति:

२२ चैत, काठमाडौं । कोरोनाभाइरसबाट सबैभन्दा ठूलो सङ्ख्यामा नागरिक सङ्क्रमित भएका मुलुकको सूचीमा फ्रान्स थपिएको छ । शुक्रबारको आँकडासँगै फ्रान्सले भाइरस उत्पत्ति भएको चीनभन्दा धेरै मानिस सङ्क्रमित भएका अन्य मुलुकको सूचीमा पाँचौं स्थान बनाएको छ ।

यसअघि नै संयुक्त राज्य अमेरिका, स्पेन, इटाली र जर्मनीमा चीनमा भन्दा बढी सङ्क्रमित फेला परेका थिए ।फ्रान्सको पछिल्लो तथ्याङ्कअनुसार, त्यहाँ कुल ६ हजार ५ सय ७ जना मानिसले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् । सङ्क्रमितको सङ्ख्या ८२ हजार एक सय ६५ पुगेको छ ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका एक निर्देशक जेरोम स्यालमनका अनुसार, यसअघि सरकारले अस्पतालहरूबाट प्राप्त तथ्याङ्क मात्र गनिरहेको थियो भने नर्सिङ होमबाट प्राप्त तथ्याङ्क जोड्दा मृतकको सङ्ख्या ६१ प्रतिशत र सङ्क्रमितको सङ्ख्या ४४ प्रतिशतले बढ्यो ।

यसअघि प्यारिस सरकारले धेरै नागरिकहरूको सङ्क्रमण र मृत्युको रिपोर्ट लुकाएको भनेर धेरै आलोचना खेपेको थियो । कोरोनाको संक्रमण र मृत्यु संख्याबारे चीनले सार्वजनिक गरेको तथ्यांकमाथि अमेरिकासँगै केही युरोपेली मुलुकहरूले प्रश्न उठाउँदै आएका छन् । चीनले सार्वजनिक गरेका तथ्यांक यथार्थ नभएको आशंका ती देशको छ ।