रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा भेटिए ६ जना कोरोना संक्रमित

प्रकाशित मिति:

बुटवल/ रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएसँगै सीमामा थप कडाइ गरिने भएको छ ।शनिबार रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपासका गाउँमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित भेटिएको भारतीय गाउँ कोल्हुई र मर्चवारीमाई गाउँपालिकाको पैदल दूरी १० मिनेटको मात्र रहेको मर्चवारीमाईका अध्यक्ष केशवनन्दन बानियाँले बताए ।

‘सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएको जानकारी पाएसँगै मर्चवार क्षेत्र पूरै त्रसित छ,’ अध्यक्ष बानियाँले भने, ‘सबै त्रसित छन् । कोही पनि घरबाहिर निस्किएको अवस्था छैन ।’ उनले स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर सीमा पूर्ण रूपमा बन्द गराउन आग्रह गरिएको बताए । कोल्हुई मर्चवारवासीको प्रमुख बजार हो ।

उनीहरू दिल्लीको तबलिगी मरकजमा सहभागी भएर आएकाहरू भएको खुलेको छ । उनीहरूलाई भारतीय प्रहरीले गत बुधबार नियन्त्रणमा लिएर बिआरडी मेडिकल कलेज गोरखपुरमा नमुना परीक्षणका लागि पठाएको थियो । शनिबार बिहान रिपोर्ट पोजेटिभ आएसँगै उनीहरूलाई आइसोलेसनमा राखिएको र परिवारका सदस्यहरूलाई पनि क्वारेन्टाइनमा राखिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।खुला सीमाका कारण जोखिम बढेसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।-साभार पावर न्युज नेपाल बाट