गल्याङमा चार सय ९५ परिवारका १८ सय ५४ जनालाई राहत वितरण

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले चार सय ९५ परिवारलाई राहत बाँडेको छ । गल्याङ नगरपालिका वडा नम्बर एक, दुई, तीन र चारमा लकडाउनका कारण समस्यामा परेका अति विपन्न चार सय ९५ परिवारलाई राहत बाँडिएको हो । शनिबार बेलुकासम्ममा चार सय ९५ परिवारका एक हजार आठ सय ५४ जनालाई राहत बाँडिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।  उनीहरुलाई चार वटै वडामा गरी हालसम्म नौ हजार दुई सय ७० किलो चामल बाँडिएको छ । यस्तै, पाँच सय ५१ किलो दाल, ४९७ किलो नुन, चार सय ७६ लिटर खाने तेल र चार सय ६७ वटा हात धुने साबुन बाँडिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो । राहतका लागि आइतबार वडा नम्बर पाँचमा जाने तय भएको उहाँले जानकारी दिनुभयो ।राहत वितरणका लागि वडा वडामा पुग्नुभएका नगरप्रमुख भुपराज अधिकारीले नगरपालिकाले बनाएको राहत मापदण्ड अनुसार विपन्नहरुलाई राहत बाँडिएको स्पष्ट पार्नुभयो ।

वडा नम्बर चारमा भएको कार्यक्रममा उहाँले भन्नुभयो –“कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउनका लागि लकडाउन भएको अवस्था छ । यो विपदको समयमा नगरपालिकाले पिडामा परेकाहरुलाई सहयोग गरेको हो ।”नगरप्रमुख अधिकारीले सबै नगरबासीको अभिभावकत्व नगरपालिकाले लिने भन्दै ढुक्क हुन आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो –“तपाईहरु साबधानी अपाउनुहोला । हामी जनप्रतिनिधि र कर्मचारी सक्दो प्रयास गरिरहेका छौं” पहिलो चरणमा १५ दिनको लागि राहत प्याकेज ल्याएको भन्दै उहाँले राहत प्याकेजलाई लकडाउन सकिएको एक हप्तासम्म जारी राख्ने जानकारी दिनुभयो । नगरपालिकाबाट राहत र कोरोना भाइरस संक्रमणको जोखिम क मगर्नका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो । उहाँले नगरपालिकामा राहत कोषको स्थापना गरिएको भन्दै असहायहरुको सहयोगका लागि राहत कोषमा रकम जम्मा गरेर सक्दो सहयोग गर्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डेले वडा समितिबाट आफ्नो वडामा सकेसम्म विपन्नहरुलाई छनौट गरिएको जानकारी दिनुभयो ।

गल्याङ्मा होम क्वारेन्टाइनमा बसेका आधा भन्दा बढि परिवारसँगै स्याङ्जाको गल्याङ नगरपालिकामा होम क्वारेन्टाइनमा बसेकामध्ये आधा भन्दा बढि परिवारसँगै बस्न थालेका छन् । भारत सहित विदेशबाट आएका उनीहरु होम क्वारेन्टाइन छोडेर परिवारसँगै बस्न थालेका हुन् ।  गल्याङ नगरपालिकामा विदेशबाट आएका एक सय १० जना मध्ये ६४ जना परिवारसँगै बस्न थालेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार विदेशबाट आएको १५ दिन पुरा भएकाहरुलाई वडाको समन्वयमा स्वास्थ्य जाँच गराई साबधानी पूर्वक बस्न आग्रह गर्दै परिवारसँगै बस्न दिइएको छ ।
यो सँगै गल्याङ नगरपालिकामा होम क्वारेन्टाइनमा बस्नेको संख्या ४६ मा झरेको छ ।
उनीहरुलाई पनि १५ दिन पुरा भएपछि क्रमशः छाड्दै जाने उहाँले बताउनुभयो ।
होम क्वारेन्टाइनमा बसेका मध्ये अहिले सम्म कसैको पनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको गल्याङनगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो ।
होम क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य परिक्षणका लागि नियमित व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
गल्याङको वडा नम्बर एकमा चार जना वडा नम्बर दुईमा सात जना, वडा नम्बर तीनमा छ जना, वडा नम्बर चारमा १८ जना, वडा नम्बर पाँच मा दुई जना, वडा नम्बर छ मा १४ जना, वडा नम्बर सात मा २३ जना, वडा नम्बर आठ मा छ जना, वडा नम्बर नौ मा आठ जना, वडा नम्बर दश मा दश जना, वडा नम्बर ११ मा १२ जना विदेशबाट आएर घरमै क्वारेन्टाइनमा बसेका थिए ।