भद्रकाली आयल स्टोर्सलाई २ लाख रुपैयाँ जरिवाना

प्रकाशित मिति:

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको मनहरा नगरपालिका ९ स्थित भद्रकाली आयल स्टोर्सलाई २ लाख रुपैयाँ जरिवाना तोकेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको संयुक्त अनुगमन टोलीले भद्रकाली आयल स्टोर्सलाई २ लाख रुपैयाँ जरिवाना तोकेको हो । मापदण्ड भन्दा कम परिमाणमा पेट्रोलिय पदार्थ बिक्री गरेको पाइएपछि सो पम्पलाई दुई लाख रुपैयाँ जरिवाना तोकेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत जोरसिंह माझीले बताउनुभयो । तिन पटक सम्म नोजलबाट मापदण्ड परीक्षण गर्दा पनि कैफियत भेटिएकाले तत्काल जरिवाना गराएको विभागले जनाएको छ । जाँचका क्रममा सो पम्पले प्रति लिटरमा ३० देखि ३५ मिलि लिटर कम परिमाणमा पेट्रोल बिक्री गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । मापदण्ड अनुसारको बिक्री वितरणको व्यवस्था नमिलाए सम्म सो पम्पलाई पेट्रोल बिक्री वितरणमा रोक लगाएको विभागका निरीक्षण अधिकृत माझीले बताउनुभयो । आगामी एक हप्ता भित्र जरिवाना बुझाउन सो पम्पलाई निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।