कोरोना नभएको पुष्टि, तीन जना घर फिर्ता

प्रकाशित मिति:

तोलाकान्त बगाले  वालिङ, २३ चैत । कोरोनाको आशंकामा वालिङ नगरपालिकाको आईसोलेशन सेन्टरमा बसेका तीन जनामा कोरोना नभएको पुष्टि भएपछि आज घर फर्केका छन् । स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा बिहीबार चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको थियो । चारै जनाको रिपोर्ट नेगेटिभ आएपछि चापाकोट नगरपालिकाका तीनै जनालाई आज घर फिर्ता पठाईएको हो भने वालिङका एकजना होम क्वारेन्टाईनमा बस्नुभएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

२९ दिन अघि कतारबाट आएका चापाकोटका एक पुरुषको श्रीमतीलाई एकहप्तादेखि ज्वरो आउने तथा खोकी लाग्ने समस्या देखिएपछि दम्पती तथा बुवाको स्वाबको नमूना परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाईएकोमा वालिङका युवकसहित चापाकोटका तीनै जनाको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख खाँणले बताउनुभयो ।

वालिङ नगरपालिकाले स्थापना गरेको आईसोलेशन सेन्टरमा रहनुभएका चापाकोट नगरपालिकाका तीन जनालाई सम्बन्धित वडाका अध्यक्ष तथा स्वास्थ्यकर्मीको रोहबरमा घर पठाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।

महिलालाई झण्डै एक हप्तादेखि ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षणहरु देखिएपछि उपचारका लागि बिहीबार वालिङ प्राथमिक अस्पतालमा आएपछि कोभिड १९ को आशंकामा स्वाब परीक्षणका लागि नमूना पोखरा पठाईएकोमा सबैको नेगेटिभ आएको ग्रहौं प्राथमिक अस्पतालका प्रमुख डा। पवन अर्यालले बताउनुभयो ।