एसपी बिष्ट र इन्स्पेक्टर भट्टले दिए स्पष्टिकरण

प्रकाशित मिति:

काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण मास्न उद्दत रहेको भन्दै निलम्बनमा परेका एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले गृहमन्त्रालयले सोधेको स्पष्टीकरणको लिखित जवाफ दिएका छन् ।

दुवै जनाले बुधबार दिउँसो सरकारलाई स्पष्टीकरणको लिखित जवाफ दिएका हुन् । पत्र बुझेको २४ घन्टाभित्र लिखित स्पष्टीकरण दिनुपर्ने कानुनी व्यवस्था छ भने, चित्त नबुझे गृहसचिवले अर्कोपल्ट पनि स्पष्टकरण सोध्न सक्नेछन् । दास्रोपल्ट पनि चित्त बुझ्दो जवाफ नआए गृह सचिवले नै पदबाट बर्खास्त गर्न सक्छन् ।

पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणमा गम्भीर लापरबाही गरेको आरोपमा बिष्ट र भट्टलाई बर्खास्त गर्ने सरकारी तयारी छ । उनीहरुले दिएको लिखित जवाफका आधारमा सरकारले आवश्यक निर्णय लिनेछ ।

यसअघि प्रहरी प्रधान कार्यालयले एसपी बिष्ट र र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गर्न गृहमन्त्रालयलाई सिफारिस गरिसकेको छ । प्रहरी निरीक्षकदेखि उपरीक्षकसम्मको बर्खास्तीको अधिकार गृहसचिवलाई छ। गृहसचिव प्रेम राईले भट्ट र बिष्ट दुवैलाई लिखित स्पष्टीकरण दिन पत्र काटेका थिए । स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभए दुवै बर्खास्त हुने छन् ।

गत साउन १० गते पन्त साथीको घरमा पढ्न गएकी थिइन्। भोलिपल्ट नजिकैको उखुबारीमा उनको शव भेटिएको थियो। शव भेटिएपछि पनि विष्टले नेतृत्व गरिरहेको कञ्चनपुर प्रहरीले कयौँ गम्भी गल्ती गरेको विवरण यसअघि आइसकेका छन्