रोहिणी गाउँपालिकाद्वारा राहत वितरण सुरु , पहिलो चरणमा १ हजार ४ सय घरधुरीलाई राहत

प्रकाशित मिति:

धकधई । रोहिणी गाउँपालिकाले गरिब, विपन्नलाई राहत वितरण सुरु गरेको छ । कोरोनाको भाईरसको जोखिम न्यूनिकरण गर्न सरकारले लागु गरेको लकडाउन लम्बिए संगै गरिब तथा विपन्न वर्गका जनतालाई अप्ठेरो परेकोले राहत वितरण सुरु गरिएको हो ।

गाउँपालिकाले विपद् ब्यवस्थापन समितिको बैठक बसी राहत बितरण गर्न सुरु गरेको छ । गाउँपालिकाको वडा नम्बर २ र ३ बाट राहत बितरण सुरु गरिएको राहत बितरण संयोजक राज कुमार मिश्रले जानकारी दिए । उनले पहिलो चरणमा एउटा वडामा २ सय घरधुरीको दरले राहत बितरण गरिएको र यसलाई आवश्यकता अनुसार आगामी दिनमा बढाउन सकिने बताए ।

गाउँपालिकाले राहत बितरण सम्बन्धि निर्देशिका नै बनाएर सोही अनुसार राहत बितरण गरेको छ । एउछा परिवारलाई गाउँपालिकाले १० किलो चामल, ५ किलो पिठो, १ किलो दाल, १ लिटर तेल, १ पोका नून, ४ सय ग्राम सोयाबिन, ४ किलो आलु र १ किलो प्याज बितरण गरि रहेको छ । प्रथम चरणमा श्रमिकवर्ग, असहाय, गरिब तथा तिनि संग सम्बन्धित ब्यक्तिहरुका लागी राहत बितरण गरिएको छ ।

राहत बितरण कार्यमा गाउँपालिकाका पदाधिकारी सहभागी छैनन् । गाउँपालिकाका पदाधिकारी जादा भिड बढ्ने भन्दै कर्मचारीहरु परिचालन गरि राहत पाउनेको घर घरमै पुगेर राहत बितरण गरिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।

उनले १ हजार ४ सय घरधुरीलाई पुग्ने गरि प्याकेट तयार गरिएको र सोही अनुसार बितरण गरिएको बताए । उनले गाउँपालिका भित्र रहेका सम्पूर्ण गरिब तथा असहायलाई पुग्ने गरि राहत बितरण गरिने जानकारी दिए ।

राहत पाए पछि स्थानियहरु केही सन्तोष मानेका छन् । दैनिक ज्याला मजदुरीमा भर परेका मजदुरहरु लकडाउनको कारण काममा जान पाएका छैनन् । घरमा राखेको खाद्यन्न पनि सकिइ पछि चिन्तित रहेका उनिहरुमा गाउँपालिकाको सामाग्रीले केही राहत दिएको छ ।