सिक्किम नेपाल जोड्ने सडक निर्माण तीव्र पारेको

प्रकाशित मिति:

पाँचथर – नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ। सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो। डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ।

पुष्पलाल (मध्य पहाडी ) लोकमार्गको सुरु बिन्दु नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडकले जोड्न सिक्किम सरकारको योजना छ। सिक्किमको दक्षिणी उत्तरे बजारनजिकैको सोकपाखा भन्ने ठाँउबाट नेपालको चिवाभञ्याङसम्म सडक बनाउन लागिएको हो। डिसेम्बरभित्र यो सडक उद्घाटन गर्ने गरी काम भइरहेको झाँक्रीढुंगाका समाजिक अगुवा अशोक क्षेत्रीले जानकारी दिए। करिब ७० प्रतिशत काम सकिएको उनले बताए। सीमा राजमार्गको गुणस्तरमा काम भइरहेको उनले बताए।

पर्यटनलाई प्रथामिकतामा राखेर यो सडक निर्माण अघि बढाइएको केही साताअघि सिक्किम सरकारका खाद्य तथा नागरिक आपूर्ति विभाग र सहरी विकास तथा आवास विभागमन्त्री एन. के सुब्बाले नागरिकसँग बताएका थिए। डिसेम्बरसम्म चिवाभञ्याङलाई सडकले जोड्ने योजना उनले सुनाएका थिए। नेपालसँग सिक्किम प्रान्तको पहिलोपल्ट सडक सम्बन्ध स्थापना हुन लागेको हो। नेपाल र भारतको सिक्किम प्रान्तबीच ९९ किलोमिटर साझा सिमाना पर्छ। अहिलेको काम हेर्दा निर्धारित समयमा काम सकिने र मुख्यमन्त्रिको उपस्थितिमा सडक उद्घाटन गर्ने तयारी भएको उनले बताए। यो सडक बनेपछि नेपाल र सिक्किमबीच पर्यटन विकास गर्न सहयोग पुग्ने दाबी क्षेत्रीको छ।

२४ करोड ३८ लाख ४ हजार भारतीय रुपैयाँ लागतमा सडक निर्माण सम्पन्न गर्ने योजना छ। सोकपाखाबाट १८ किलोमिटर सडकले नेपालको चिवाभञ्याङ जोड्न लागिएको हो। सरकारी ठेकेदार पिके सुब्बाको नेतृत्वमा तीव्र गतिमा काम अघि बढिरहेको क्षेत्रीले जानकारी दिए। सिक्किम सरकारले केही वर्ष पहिला नै सडक बनाउन चाहेको थियो । कञ्चनजंगा नेसलन पार्कको वन क्षेत्र भएकाले केन्द्रीय सरकारको अनुमति पाउन तीन वर्ष कुर्नुप-यो। केन्द्रीय सरकारबाट सडक बनाउने अनुमति पाएपछि सडक निर्माण अघि बढाइएको हो । नेपालसँग सिक्किम जोड्ने यो सडकको महत्व रहेको त्यहाँका पत्रकार प्रकाश अधिकारीले बताए। दुई देशबीच आवागमन र पर्यटन प्रवद्र्धनमा यो सडक निकै सहयोगी हुने उनको भनाइ छ।

नेपालतर्फबाट चिवाभञ्याङसम्म मध्यपहाडी लोकमार्ग पुगेको छ । अब भारततिरबाट पनि सडकले जोडिने भएपछि लोकमार्गको सुरुवाती बिन्दु चम्किने छ। सिमाना क्षेत्रमा उस्तैउस्तै भूगोल र सामाजिक–सांस्कृतिक सम्बन्ध छ। कुटुम्बेली साइनो महत्वपूर्ण छ। सडक बनेपछि दुईदेशीय व्यापारको केही अंश यही नाकाबाट हुने अपेक्षा गरिएको छ।

सडक निर्माण गति हेर्दा भारततिरको सडकले चाँडै चिवाभञ्याङ जोड्ने पत्रकार अधिकारीले बताए। यो सडक बन्न थालेपछि सीमावर्ती क्षेत्रका बासिन्दा उत्साहित भएका छन्। भारततर्फबाट चिवाभञ्याङसम्म आउने सडक बन्दै छ भन्ने सुनेपछि पाँचथर जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा हर्षित देखिन्छन्। यो सडक बनेपछि पूर्वको पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुमलगायत जिल्लाको सीधा सडक सम्पर्क सिक्किमसँग हुनेछ। पाथीभरा जाने दर्शनार्थीले पनि यही बाटो प्रयोग गर्न सक्ने छन्। दक्षिणी सिक्किमको उत्तरे, बेगा, देन्ताम, सोपाखालगायत गाउँ भएर यो सडक चिवाभञ्याङ आउने छ।

चिवाभञ्याङमा अहिले नेपालतिरबाट सडक पुगे पनि सुरक्षा उपस्थिति भने छैन। भारततर्फ भने सीमा सुरक्षा बल (एसएसबी) र सिक्किम प्रहरीको उपस्थिति छ। चिवाभञ्याङमा दुईतिरको सडक मिलेपछि व्यापारिक गतिविधि बढ्ने याङवरक गाउँपालिका बासिन्दा कृष्ण प्याकुरेल बताउँछन्। यसबाट दुवै देशबीच सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने उच्च पहाडी तथा हिमाली क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने उनको भनाइ छ। अब नेपालले पनि मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्न र सिमानामा सुरक्षा उपस्थिति गराउन जोड दिनुपर्ने उनको भनाइ छ।

nagarik bata