वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-वालिङ नगरपलिकाले कोभिड १९ सम्बन्धी राहत वितरण तथा ब्यवस्थापन गर्न बनेको कार्यविधि २०७६ पारित गरी लागू गरेको छ ।कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति तथा नेपाल सरकारले गरेको लकडाउनको कारणले दैनिक गुजारा चलाउन नसकेका ब्यक्तिहरुलाई लकडाउनको अवधिमा जीवनयापनको लागि अत्यावश्यक दैनिक खाद्य सामग्रीसहितको जिन्सी, राहत प्याकेज उपलब्ध गराउन आवश्यक भएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी बनेको वालिङ नगरपालिकाको नगर विपद जोखिम न्यूनिकरण तथा ब्यववस्थापन ऐन २०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी नगर कार्यपालिकाले कार्यविधि तयार गरी लागू गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

नगर कार्यपालिकासहित सर्वदलीय सर्वपक्षीय बैठकले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न कोभिड १९ प्रभावितहरुलाई राहत वितरणसम्बन्धी कार्यविधि २०७६ पारित गरी लागू गरेको नगर प्रमुख खाँणले बताउनुभयो ।

राहत वितरण प्रक्रियालाई प्रभावकारी, विश्वसनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गरिने नगर प्रमुख खाँणले बताउनुभयो ।पारित भएको कार्यविधिमा नगरभित्रका १४ वटै वडा अध्यक्षको संयोजकत्वमा गठित समितिले आ–आफ्नो वडामा रहेका गरीब, विपन्न परिवार र दैनिक ज्यालादारी गरेर बिहान बेलुका छाक टार्ने परिवार र ब्यक्तिहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले सिफारिस गरी नपा कार्यालयमा पठाउनेछ भने राहत उपलब्ध गराउनुपर्ने परिवार र ब्यक्तिको विवरण वडाले संख्या र नामसहितको विवरण तयार गरी उपलब्ध गराएपश्चात नगरपालिकाले खैनिक खाद्य सामग्रीसहितको एकमुष्ठ प्याकेजको कुपन वडालाई उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाबाट प्राप्त भएको कुपन वडाले सम्बन्धित ब्यक्ति वा परिवारलाई उपलब्ध गराउने र कुपन प्राप्त गर्ने ब्यक्ति वा परिवारले नजिकको पायक पर्ने पसलमा कुपन दिई कुपनमा उल्लेख भए बमोजिमको खाद्य सामग्री प्राप्त गर्ने ब्यवस्था मिलाईएको छ ।किराना ब्यावसायीले खाद्य सामग्री उपलब्ध गराएपछि एकमुष्ठरुपमा कुपन नगरपालिका कार्यालयमा बुझाएर नगद प्राप्त गर्न सक्नेछन् । वालिङ नगरपालिका, वालिङ उद्योग वाणिज्य संघ र ब्यावसायीहरुबीचको संयुक्त छलफलले नगरपालिकाभित्र खाद्यान्न ब्यापारीलाई खाद्यान्न स्टक राखी वितरण गर्ने ब्यवस्था मिलाउने सहमति पनि भएको छ ।

“राहत वितरण गर्दा घरबास नभएको, घर परिवारमा कुनैपनि सदस्यको जागिर नभएकोलाई पहिलो प्राथमिकतामा राख्छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “घर भएको, घर भाडामा नलगाएको, जग्गा जमिन नभएको र परिवारको कुनैपनि सदस्य रोजगारी नभएको, दैनिक ज्यालादारीमा कम गरी खाने परिवार वा ब्यक्तिलाई दोस्रो प्राथमिकतामा राखेर राहत वितरण प्रक्रिया थाल्ने छौं ।”कार्यविधिमा राहत वितरणका लागि नगरपालिकामा दैनिक अत्यावश्यक खाद्य सामग्रीको प्याकेज ब्यवस्थापन वितरण तथा अनुगमन गर्न नगरस्तरमा नगर प्रमुख संयोजक रहने गरी नगरस्तरीय राहत वितरण तथा ब्यवस्थापन समिति र वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी वडास्तरीय राहत वितरण तथा ब्यवस्थापन समिति निर्माण गरिएको छ ।

नगरस्तरीय समितिले दैनिक अत्यावश्यक वस्तु खाद्यान्न चामल, पिठो, दाल, चिनी, मरमसला जस्ता वस्तुको उपलब्ध गराउन आवश्यक ब्यवस्था मिलाउने, ग्राहक र बिक्रेताबीचको भौतिक दूरी कायम गर्न सहजीकरण गर्ने, दैनिक अत्यावश्यक बस्तुको कालो बजारी, अनुचित मुल्य बृद्धि, मिसावट तथा गुणस्तरहिन मालसामन बिक्री वितरण गर्ने ब्यक्ति, ब्यापारी, उद्योग तथा संस्थालाई कानून बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने, विभिन्न ब्यक्ति तथा संस्थाले उपलब्ध गराएको खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुको संकलन तथा वितरण गर्ने, वडाबाट सिफारिस भएर आएका आधारमा कुपनहरु उपलब्ध गराउने र बजार तथा कुपन सम्बन्धित ब्यक्तिले पाए नपाएको अनुगमन गर्नेछ ।यसैबीचवालिङ नगरपालिकाले दैनिक उपभोग्य बस्तुको दरभाउ निर्धारण गरेको छ । कोरोना भाईरस (कोभिड १९) संक्रमण हुन नदिन गरिएको लकडाउनको समयमा वालिङ नगरभित्रका खाद्यान्न पसलहरुमा दैनिक उपभोग्य बस्तुको दरभाउ एउटै बनाउने उद्देश्यले वालिङ नगरपालिकाको पहलमा वालिङ उद्योग वाणिज्य संघ र ब्यावसायीहरुको संयुक्त बैठकले खाद्यान्नको दरभाउ निर्धारण गरेको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड १९ को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नगरपालिकाका प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत एउटै दरभाउमा उपलब्ध गराउन सकियोस् भनेर सामूहिक छलफलबाट दरभाउ निर्धारण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिको ब्यवस्था मिलाईने छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “दैनिक अत्यावश्यक वस्तुको कालोबजारी, अनुचित मूल्य बृद्धि, मिसावट तथा गुणस्तरहिन मालसामन बिक्री वितरण गर्ने कार्यलाई निरुत्साहित गरिने छ ।”संयुक्त बैठकले चामल सामा राम्रो प्रतिकेजी रु. ५५, अडहर दाल प्रतिकेजी रु. एकसय ४०, मुसुरो दाल प्रतिकेजी एकसय १०, भट्टमास तेल प्रतिलिटर रु एकसय ५०, आयो नुन प्रतिकेजी रु. २१ र साबुन लाईफबाँय प्रतिगोटा रु. ३० निर्धारण गरिएको हो । दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका समयमा तोकिएको दूरी कायम गर्नुपर्ने पनि निर्णय गरेको छ ।