मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद

प्रकाशित मिति:

रीमा बि.सी -बुटवल,चैत २४ गते ।विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेको प्रयासबारे मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग चैत २४ गते एकीकृत रुपमा भिडियो संवाद गर्नुभयो ।कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गर्नुभएको यो चौथो भिडियो संवाद हो । चौथो भिडियो संवादमा गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र भारतसंग सीमा जोडिएका स्थानीय तहका प्रमुख संवादमा सहभागी हुनुहुन्थ्यो ।
संवादमा ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बश्याल, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटो, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र वगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद वश्याल भिडियो संवादमा सहभागी हुनुभएको थियो ।

भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको थियो । पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले आगामी दिनमा गर्नुपर्ने कामबारे मार्ग्निर्देशन गर्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर के.सीले बताउनुभयो । पालिकाप्रमुखहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मुख्यमन्त्रीलाई गराउदै । आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन छिटो गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।स्थानीयस्तरमा राहत कोष बनाएर अघि बढ्न र दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।
प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निमार्ण गरेको र त्यहाँ आइसियु सहितको उपचारको व्यवस्था रहेको मुख्मयन्त्रीले बताउनुभयो ।

भैरहवामा चैत २३ गतेदेखि प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको र केही समयमै नेपालगञ्ज र दाङमा पनि प्रयोगशाला सञ्चालनमा आउने भन्दै उच्च मनोबलका साथ कोरोना विरुद्धको अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।सबै जिल्ला अस्पताल र चार वटा आइसोलेसन अस्पतालमा काठमाडौबाट प्राप्त स्वास्थ्य सामग्री पठाइएको बताउँदै उहाँले अब आउने स्वास्थ्य सामग्री क्रमशः अरु स्वास्थ्यकेन्द्रलाई पनि पठाउन सकिने बताउनुभयो ।कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संभव हुने बताउदै उहाँले केही समस्या परे तत्काल सम्पर्क गरी समाधानको पहल गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले अवको बाटो भनेको अरु प्रदेशबाट आउने नाकामा कडाई गरी अघि बढ्नुपर्ने भन्दै अरु प्रदेशबाट आउने नाकालाई पूर्णतः बन्द गर्न ध्यान दिंदा जोखिमबाट जोगिन सकिने भएकोले पालिका प्रमुखहरुलाई मुख्यमन्त्रीले ध्यानाकर्षण गराउनुभयो ।