नेपालबाट भारतको बिहारतर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा बरामद

महोत्तरी

प्रकाशित मिति:

महोत्तरी- नेपालबाट भारतको बिहारतर्फ तस्करी गरेर लैजाँदै गरेको मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले ढुवानीमा प्रयोग गरिएको भ्यान सहित २४ कार्टुन मदिरा बरामद गरेको हो।

केहि दिनदेखि महोत्तरीको सिमावर्ती क्षेत्र भएर तस्करहरुले विभिन्न जुक्ती लगाएर मदिरा तस्करी गरि रहेको आम जनगुनासो पछि प्रहरी सक्रिय बनेको थियो।

प्रहरीको गस्ती टोलीले सदरमुकाम जलेश्वरबाट भारतीय सीमा भिटामोड तर्फ जाँदै गरेको डिएल ३ सिडि २२८७ नम्वरको भ्यानमा तस्करीको मदिरा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी ईश्वर कार्कीले बताए। शंकास्पद अवस्थामा सीमा कटाउन लागिएको भ्यानलाई प्रहरीको गस्ती टोलिले पछयाउन थालेपछि भ्यान चालक भ्यान छाडेर भागेका थिए।

भ्यानमा प्रहरीले खानतालासी गर्दा प्लाष्टीकको बोरामा लुकाई छिपाई राखिएको सो परिमाणको मदिरा बरामद भएको थियो। बरामद भएको मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय जनकपुर पठाइएको एसपी कार्कीले बताए। मदिरा ढुवानीमा प्रयोग गरिएको भ्यान मुल भन्सार कार्यालय भिटामोडमा बुझाइएको छ।

यसैबीच तिहार र छठ नजिकिदै जाँदा सिमावर्ती क्षेत्रबाट पटाकाहरु भित्रयाउने खोज्ने कार्यलाई नियन्त्रण गर्न खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न ठाउँबाट ६५ हजार मूल्य बराबरको पटाका बरामद गरेको एसपी कार्कीले बताए।