वालिङमा ‘कुपन सिस्टम’ बाट राहत वितरण शुरु

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-स्याङ्जाको वालिङ नगरपालिकाले मंगलबारबाट ‘कुपन सिस्टम’ द्वारा राहत वितरण शुरु गरेको छ । राहत वितरण प्रक्रियालाई पारदर्शी, प्रभावकारी, विश्वसनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यले ‘कुपन सिस्टम’ द्वारा राहत वितरण शुरु गरिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको सामाजिक दूरी कायम गर्न, अति बिपन्नहरुको आत्मसम्मानलाई मध्यनजर गर्दै राहत वितरण गरेको तस्वीरसमेत नलिने निर्णय गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

“नगरका १४ वटै वडाबाट अति विपन्नहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले नगर कार्यपालिकामा पठाएपछि नगरपालिकाले वडा÷वडालाई परिवार संख्याका आधारमा खाद्यान्नको कुपन उपलब्ध गराउँछौं” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरपालिकाले वडालाई उपलब्ध गराएको कुपन वडाले फेरि अति विपन्नहरुलाई उपलब्ध गराउने छ भने राहत लिनेहरुले आँफूलाई पायक पर्ने पसलबाट खाद्यान्न प्राप्त गर्न सक्ने ब्यवस्था मिलाईएको छ ।”नगरपालिका कार्यालय, वालिङ उद्योग वाणिज्य संघ र खाद्यान्न ब्यावसायीहरुको संयुक्त बैठकले मापदण्ड अनुसारका खाद्यान्न ‘कुपन सिस्टम’ का आधारमा सहजरुपमा उपलब्ध गराउने निर्णय भएसँगै वडा कार्यालयहरुले वडाबासीलाई पायक पर्ने स्थानका खाद्यान्न पसलहरुबाट खाद्यान्न प्राप्त गर्न सक्ने नगर प्रमुख खाँणले बताउनुभयो ।

नगरपालिकाका १४ वटा वडाहरुले राहत पाउनुपर्नेहरुको तथ्यांक नगरपालिकामा उपलब्ध गराएसँगै नगरपालिकाले खाद्यान्नको कुपन दिने भएकाले मंगलबार वडा नं. २ र ६ बाट राहत वितरणका लागि कुपन प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताउनुभयो ।वडाले सिफारिस गरेका परिवार संख्यालाई राहत वितरणका लागि तोकिएको मापदण्ड अनुसारका खाद्यान्नहरु समावेश गरी १५ दिनलाई उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो । एकल, दुई जना, चार जना र चार जनाभन्दा माथिको सदस्य संख्याका आधारमा परिवारको बर्गीकरण गरी राहतस्वरुप कुपन उपलब्ध गराईने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।

वालिङ नगरपालिका २ नं. वडा कार्यालयले २ सय १६ घर परिवारलाई पहिलो चरणको राहत उपलब्ध गराउन माग गर्दै सिफारिस गरेर कुपन ल्याई वडामार्फत वितरण शुरु गरेको वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो ।“तोकिएको दूरी कायम गर्न सुझाव दिंदै वडाभित्रका तीन वटा खाद्यान्न पसलमध्ये आँफूलाई पायक पर्ने पसलबाट तोकिएको खाद्यान्न लिनका लागि राहत माग गर्न आउनेलाई कुपन दिएका छौं” वडा अध्यक्ष लम्सालले भन्नुभयो, “राहत लिन आउनेलाई जुन पसलबाट सामन लिंदा पायक पर्छ र सहज हुन्छ त्यहीँबाट खाद्यान्न लिन सक्नुहुनेछ ।” वडा नं. ६ मा ८८ घर परिवारलाई राहत वितरण गर्ने तयारी स्वरुप आजबाट वितरण थालिएको वडा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनुभयो ।

“राहतका लागि नाम समावेश भएका अति विपन्न ८८ घर परिवारले वडाका विभिन्न ठाउँमा रहेका ६ वटा खाद्यान्न पसलबाट कुपन दिएर खाद्यान्न प्राप्त गर्न सक्नुहुनेछ” वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो “पसलहरुको बाँडफाँड गर्दिएकाले पनि एकैचोटी भीडभाड हुने समस्या पनि हटेर जान्छ ।”राहत वितरण गर्दा घरबास नभएको, घर परिवारमा कुनैपनि सदस्यको जागिर नभएकोलाई पहिलो प्राथमिकतामा राखिने छ भने घर भएको, घर भाडामा नलगाएको, जग्गा जमिन नभएको र परिवारको कुनैपनि सदस्य रोजगारी नभएको, दैनिक ज्यालादारीमा कम गरी खाने परिवार वा ब्यक्तिलाई दोस्रो प्राथमिकतामा राखेर राहत वितरण प्रक्रिया थालिएको वालिङ नगरपालिकाले जनाएको छ ।वडागतरुपमा तथ्यांक आउन बाँकी रहेका वडाहरुको तथ्यांक आउने क्रम अन्तिम चरणमा रहेकाले केही दिनभित्रमा राहत वितरण गरिसक्ने दाबी नगरपालिकाले गरेको छ ।

शहरी क्षेत्रका वडाहरुले नजिकैको पसलमार्फत खाद्यान्न उपलब्ध गराउनेछन् भने शहरबाट टाढा रहेका वडाहरुमा नगरपालिकाको सवारी साधनले गाउँ गाउँमै पु¥याएर वडा कार्यालयमार्फत राहत तिवरणको तयारी भईरहेको छ ।राहत प्याकेजमा समावेश हुने खाद्यान्नको परिमाण र दरभाउ पनि नगरभित्रका सबै पसलमा एउटै बनाईएको छ । चामल सामा राम्रो प्रतिकेजी रु. ५५, अडहर दाल प्रतिकेजी रु. एकसय ४०, मुसुरो दाल प्रतिकेजी एकसय १०, भट्टमास तेल प्रतिलिटर रु एकसय ५०, आयो नुन प्रतिकेजी रु. २१ र साबुन प्रतिगोटा रु. ३० निर्धारण गरिएको छ ।नगरपालिकाले नगरभित्रका विभिन्न वडामा ब्यावसायिकरुपमा उत्पादन गरेका ताजा हरियो तरकारीहरु बन्दा, काउली, केराउ लगायतका तरकारीहरु पनि राहत प्याकेजमा समावेश गरिदिएकाले ब्यवसायिकरुपमा उत्पादन भएको तरकारीले बजार पाउने गरेको छ ।