कोरोना पछिको नेपाल : आर्थिक चुनौती र अवसर !

२६ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
428 Shares


✍नवराज भण्डारी – दोस्रो बिश्व युद्धको समाप्ती संगै सन १९४५ मा कोरिया बिभाजन भयो। अमेरीकाको समर्थनमा दक्षिण कोरिया बन्यो भने तत्कालीन सोभियत युनियन को समर्थनमा उत्तर कोरिया । तत्कालीन समयमा सबै उद्योग ब्यबसाय देखि उत्पादित बिजुलि सम्म उत्तर कोरियाको भागमा पर्यो। दक्षिणी कोरिया उक्त समयमा हाइटी भन्दा गरिब थियो । हाम्रो देश त्यो बेला आर्थिक रुपले दक्षिण कोरिया जस्तै अबस्थामा थियो। झन्डै छ दशकको समयमा उनिहरुले मुख्यतः गुणस्तरीय शिक्षामा लगानी,कृषियोग्य भुमिको सहि बितरण र उपयोग,निर्यात मुखी औद्योगिकरणमा जोड,शिपयुत्त जनशक्तिको बिकास र अनुसन्धानमा लगानी गरे। यहि नै उनिहरु समृद्धिको आधार बन्न पुग्यो। अहिले लाखौंको सङ्ख्यामा हाम्रा युबाहरु श्रमको लागि त्यहाँ पुगेका छन। हाम्रो देशको जनसंख्याको झन्डै आधा भन्दा बढी सोह्र देखि साठि वर्ष उमेर समुहको छ । जुन इतिहासकै सबैभन्दा बलियो जनसंख्याको अनुपातमा हो। खासगरी दक्षिण एसियाली देशहरु यो चरणमा छौ। अर्थशास्त्रीहरु यसलाइ Demographic Dividend भन्छन । दशकौ अघि युरोपेली देशहरु यो चरणमा थिए । सोही समयमानै उनिहरुले बिकासको स्वर्ण युग प्राप्ति गरे। एशियाली मुलुकहरूमा स्वास्थ सेवा, पोषण युक्त खाना र शिक्षा आदि कुराको क्रमिक पहुँच संगै औसत आयु बढ्न पुग्यो।सोहि अनुरुप कृयासिल जनशक्ति बढ्यो । चिन र श्रीलंकाले यो समयमा अपेक्षित समृद्धि हासिल गर्न पुगे। हरेक देशले कालखण्डमा एक पटक प्राप्त गर्ने शक्ति हामिले अहिले सम्म प्रयोग गर्न सकेका छैनौं । तर समय घर्की सकेको छैन । अहिले बिश्वब्यापी देखिएको कोरोनाको महामारी पछि विकसित देशले हजारौको सङ्ख्यामा रोजगारी गुमाएका छ्न ।उधोग व्यवसाय हरुले ठूलो नोक्सानी ब्यहोर्ने अबस्थामा छन । यो समयमा बिदेशी कामदार पक्कै पहिलो प्राथमिकतामा पर्दैनन् । लाखौंको संख्यामा हाम्रा दाजुभाइहरुले रोजगारी गुमाउने पक्का छ । यसले हाम्रो अर्थतन्त्र र समाजमा ल्याउने बिचलन भयावह हुन सक्छ। सन २००८ को आर्थिक मन्दीले समग्र बित्तीय क्षेत्र (Financial Sector) धेरै प्रभावित भयो। अहिलेको यो महामारीले बित्तीय क्षेत्र मात्र नभएर वास्तविक क्षेत्र (Real Sector) जस्तै उद्योग , कृषि तथा अन्य उत्पादन मुलक क्षेत्रलाई धेरै प्रभावित गर्ने देखिन्छ । यसले गर्दा सन २००८ को आर्थिक मन्दी भन्दा ठूलो प्रभाव हाम्रो जस्तो देशहरुले भोग्ने देखिन्छ। अहिलेको कोरोनाको महामारी संगै हामीले ढिलो नगरी बुज्नु पर्ने कुरा के हो भने विप्रेषणमा आधारित अर्थतन्त्रले देशको अहिलेको आधुनिक बिकासको बाटो कदापी भेट्टाउन सक्दैन । यसको लागि सृजनात्मक उद्यमशिलता नै चाहिन्छ । अबको दिनको यो महामारी बाट मध्यम र निम्न बर्गको जनता जो देश भित्र र बाहिर दैनिक श्रम गर्छन उनिहरु प्रभावित हुने पक्का छ । सेवा तथा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ। कृषि क्षेत्रमा बीउ,मलखाद तथा जनशक्तिको अभाव ले उत्पादनमा ठुलो ह्रास आउने देखिन्छ । कृषि उत्पादनहरु बजार सम्म नपुगी बिग्रने अबस्था छ। यसले गर्दा औद्योगिक क्षेत्रमा कच्चापदार्थको कमि हुनेछ । मझौला तथा साना उधोग हरु धेरै बन्द हुन सक्छ्न । सुरुवाती चरणमा रहेका उद्यमहरु निरुत्साहित हुन सक्छन् । यस अवस्थाबाट बाहिर निस्कन र निजि क्षेत्रलाइ प्रोत्साहन गर्न सरकारले गर्नु पर्ने कामहरु केही सुरु भएका छन जुन प्रयाप्त छैनन । विश्वब्यापी रुपमा खासगरी अमेरिका, क्यानडा , ईन्डिया तथा युरोपेली मुलुकहरूमा ठुला आर्थिक प्याकेज हरु घोषणा भएका छन । यी प्याकेज हरुले पनि खासगरी मध्यम बर्ग भन्दा पनि ठुला ब्यवसायिक घराना हरुलाइ बचाउने हिसाबले मात्र आएका छन भनेर आलोचित भइरहेका छन। हामिले यो कुरालाइ अवश्य ध्यान दिनुपर्ने देखिन्छ । आर्थिक प्याकेज भनेर सबैलाई नगद दिन सक्ने क्षमता हामी संग छैन । आगामी दिनमा सरकारले गर्ने भनेको नितिगत तथा पुजिगत सहयोग हुन सक्दछन । सहुलियत पुर्ण कर्जा, अनुदान सहयोग , कृषिजन्य उत्पादनमा सहयोग, कर छुट , उत्पादन मुलक व्यवसायमा सहुलियत आदि कुरामा जोड दिनु पर्ने देखिन्छ । माथी भनिएका कुराहरु पहिले देखिनै नितिगत हिसाबले केहि मात्रामा उपलब्ध छन तर बास्तबिक आवश्यक परेको ब्यक्तिहरु सम्म पुगेको देखिदैन । बिगतमा संघीय ब्यबस्थाको सुरुवाती चरणमा यी कुराहरु कार्यन्वयनमा जटिलता हरु थिए । अहिलेको महामारीमा हाम्रा धेरै स्थानीय तहहरु सिमित स्रोत साधनको बाबजुत पनि धेरै कुरामा अग्रसर देखिएका छन । संघियता कार्यन्वयन को लागि यो केही सुखद पक्ष देखिन्छ । सूचना संकलन देखि क्वारेन्टाइन निर्माण सम्मका प्रयासहरु सकारात्मक देखिन्छन् । यो महामारी पछिको आर्थिक नोक्सानी बाट माथी आउन र हामीले चाहेको समृद्धि हासिल गर्न पनि हामिले स्थानीय तहहरुलाई प्रयोग गर्नुपर्छ । बिदेश बाट फर्किसकेका र पछि बाध्यताबस आउनु पर्ने हाम्रा नागरिकको ब्यबस्थापन आर्थिक र सामाजिक रुपले सजिलो पक्कै छैन । तर हामीले प्रादेशिक तथा स्थानीय तहहरुको सहि प्रयोगले मात्र यो अबस्था बाट अगाडि बढन सक्नेछौ । ठुला उधोग व्यवसाय भन्दा पनि हामिले लघु साना तथा मझौला उद्योगमा जोड दिनुपर्छ । साना तथा मध्यम खालका स्टार्ट अप गर्न चाहने हरुलाई बिशेष ध्यान दिनु पर्ने देखिन्छ ।
सृजनात्मक उद्यमशिलताको जग भनेको यहि हो। पछिल्लो समयमा आएर उद्योग ब्यवसाय संग सम्बन्धि नितिगत ब्यबस्थाहरुमा धेरै सुधार आएका छन । कम्पनी / उद्योग दर्ता , नविकरण देखि बन्द गर्ने, लाभांश लान पाउने, कर छुट तथा विभिन्न सुबिधाहरु एकीकृत बिन्दु बाट प्राप्त गर्ने सम्मका ब्यवस्था भएका छ्न। तर यी सबै नितिगत पक्षहरुको कार्यन्वयन फितलो छ । हामीले स्थानीय तहहरुलाई यस्ता कुराहरूमा अधिकार सम्म्पन्न गराउदै लैजाने र त्यहि बाट सबै काम हुने ब्यबस्था अनिवार्य रुपमा गर्नुपर्दछ। यी नितिगत ब्यवस्था र सुबिधा बारे युवाहरूलाई आवश्यक सुचना तथा परामर्श दिनु पर्ने देखिन् . नितिगत सहजीकरण सगै सरकारले गर्नुपर्ने अर्को महत्त्वपूर्ण काम भनेको पुजी निर्माणमा सहयोग हो। साना तथा मझौला उद्योगहरुको लागि चहिने न्युनतम पुजीको लागि स्वलगानी संगै सरकारले अनुदान सहयोग र अन्य पुजीगत सहयोगको ब्यबस्था गर्नु पर्छ। उद्योग तथा कृषिमा अनुदान, खाली जमिनको समुचित बितरण र प्रयोग, बन पैदावर हरुको सहि उपयोग, उत्पादनका साधनहरुको सहजता, सिपयुत्क्त जनशक्तिको तयारी, उत्पादित सामान तथा उपज हरुको सहज बजारीकरण र बितरण आदि कुराहरुमा संघीय तथा स्थानिय तहहरुले सहयोग गर्नु पर्दछ। पुजीको स्रोतको रुपमा बित्तीय संस्थाहरुबाट सहज ऋण प्राप्त हुने बाताबरण बन्नु पर्दछ । यो महामारी संगै समग्र बित्तीय प्रणालीमा पर्ने प्रभावको चपेटामा हाम्रो बैंक तथा बित्तीय संस्था हरु पर्ने छन । विप्रेषण आम्दानिमा आधारित कर्जाहरु, सेवा तथा उत्पादनमुलक क्षेत्रमा प्रबाह गरिएका कर्जाहरु खराब ऋणमा परिवर्तन हुने देखिन्छ।यसले गर्दा आगामी दिनमा खराब कर्जाको मात्रा बढ्ने देखिन्छ। यसको लागि सरकारको प्रष्ट नीति र केन्द्रिय बैंकको सहजिकरण बाट मात्र यी क्षेत्रहरूमा बैंकहरुले लगानि गर्ने बाताबरण तयार हुन्छ। बिना धितो परियोजनामा आधारित कर्जा प्रवाह गर्न नितिगत ब्यबस्था भएर मात्र हुदैन यसको लागि सरकार तथा केन्द्रिय बैंकले कर्जाको सहि प्रयोग र परियोजना पछि यसको भुक्तानीको सुनिश्चितता आदिमा सहजीकरण भए मात्र बैंक तथा बित्तीय संस्था बाट ऋण प्रबाह हुन सक्छ। भर्खर मात्र जर्मनीले अर्थिक प्याकेजको रुपमा लघु तथा मध्यम उद्योगहरुलाई प्रवाह गरेको ऋणमा जमानी बस्ने निर्णय गरेको छ । हाम्रोमा पनि सोही किसिमको मोडलका जान सकिन्छ । प्रसिद्ध लेखक तथा ब्यवसायी रोबर्ट कियोस्की भन्छन् : A crash economy is the perfect time to start a business . आगामी दिनमा विश्व भरी आउन सक्ने आर्थिक मन्दी हाम्रो लागि देश फर्किएर नयाँ सुरुवात गर्ने अवसर हुन सक्छ । यो असहज परिस्थिति लाई अवसर मा बदल्न हामिले हाम्रो सोचाइमा परिवर्तन ल्याउनु पर्छ। यो दशकमा बिदेशमा सिकेको सीप र शक्ति आफ्नै देशमा प्रयोग गर्ने समय हो। हामी संघियतामा गईसकेका छौ । नितिगत सुधारका साथै आधारभुत पुर्वाधारहरु बनेका छ्न र केहि बन्ने क्रममा छन। हामी के कुरामा प्रष्ट हुनु पर्छ भने सरकारले सबै ठिक्क पारोस अनि सुरु गरौला भनेर बस्ने हो भने त्यो समय कहिले आउने छैन। दुबै कुरा संग सगै जान्छ । समय क्रममा आबश्यक नीति बन्दै ,परिमार्जन र सुधार हुँदै जान्छन। यो कोरोनाको महामारीमा दुईवटा कुरा प्रष्ट भएको छ । पहिलो कुरा सबै भन्दा सुरक्षित आफ्नै देश हो । दोश्रो कुरा अव्यवस्थित शहर सबै थोक होइन । हजारौं मान्छे बिदेश बाट देश फर्कनु र लाखौ मान्छे सहर बाट गाउँ जानुले यो कुरा देखिन्छ । अबको दिनमा हामिले अहिलेको अव्यवस्थित शहरीकरणलाई ब्यबस्थित गर्ने र गाउँ हरुलाइ गुणस्तरीय स्वास्थ, शिक्षा र पुर्वाधार सम्पन्न बनाउने गर्नु पर्छ । प्रशिद्द लेखक युभाल नोवा हरारी भन्छन, एउटा सफल ब्यक्ति हुन खास गरि दुई कुरा चाहिन्छन । पहिलो मानसिक सन्तुलन वा तन्दुरुस्ती (mental balance ) र अर्को भावनात्मक बुद्धिमत्ता ( emotional intelligence). खास गरि जुन समाज वा देशका जनताहरुले यी दुई कुरामा नियन्त्रण राखे त्यो धेरै कुराले सम्पन्न भयो। यी कुराहरुमा हामी जहिल्यै पछि भयौं ! हामी भावनात्मक धेरै छौ तर हामीले यसलाइ सहि रुपमा प्रयोग गर्न सकेनौ । प्रतिक्रियात्मक मात्र भयौं ! यो मानसिकता लाई शक्तिमा रहने हरुले बुझे र यसलाइ आफू अनुकुल प्रयोग गरिरहे। जबसम्म हाम्रो घर परिवारका सदस्यहरु कोहि एक र अर्को देश छुट्टिएर बस्छौ तब सम्म हाम्रो मानसिक शक्तिको सहि रुपमा बौद्धिक प्रयोग गर्न सकिने छैन । हामी सबै एकजुट भएमा मात्र हाम्रो सृजनात्मक अभिव्यक्ति सहिरुपमा अगाडि आउन सक्छ। अर्को महत्वपूर्ण कुरा के हो भने समय संगै नितिहरु बदलिन्छन तर त्यो भन्दा अगाडि हाम्रो नियत ठिक हुनु पर्छ । यहाँ नियत सत्तामा बस्ने हरुको मात्र होइन त्यहाँ पुर्याउन भोट हाल्ने हामी सबैको सहि हुन जरुरी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया