सांसद बिकास कोषलाई कोरोना नियन्त्रण कोषमा राख्न काँग्रेसका १२ युवा नेताको माग

प्रकाशित मिति:

काठमाडौँ, २७ चैत । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन लम्व्याएपनि अन्य उपायहरु प्रभावकारी बनाउन नसकेको भन्दै नेपाली काँग्रेसका १२ जना युवा केन्द्रीय सदस्यहरुले १० बुँदे अपिल गरेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि लडकडाउन मात्रै समाधानको उपाय नभएकाले नेपालले अवलम्बन गर्नु पर्ने केही बिकल्पहरुका बारेमा सरकारको ध्यानाकर्षण गराउन अपिल गरिएको उनीहरुको भनाई छ । केन्द्रिय सदस्यहरु डा. चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्त रुपमा अपिल जारी गरेका हुन् । सुरक्षाकर्मीहरुको तलब कटाउने कार्य सर्वथा अनुचित रहेको भन्दै उनीहरुले सरकारको यो निर्णयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको अपिलमा उल्लेख गरेका छन् । बरु स्वास्थ्यकर्मी लगायत सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बिमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ । सड्कटको समयमा खर्च कटौति गर्नको लागी सांसद बिकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखिनु पर्ने, पुर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौंति गर्दै जनताको हितमा लगाउनु पर्नेमा युवा नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । दैनिक ज्याला मजदुरी गर्नेहरु र बृद्धबृद्धाहरुका लागि यथोचित राहतको व्यवस्था गर्न, संसारभर रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हासिल गरि आबश्यक सहयोग गर्न अपिल मार्फत आग्रह गरिएको छ । किसान र पशुचौपायाका बारेमा उत्पन्न समस्यालाई गम्भिरतापूर्वक लिई उपयुक्त कदम चाल्नु पर्ने तर्फ युवा नेताहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बिपदको बेलामा सरकार चलाउने मुख्य ब्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति नदिन र संकटको मौका छोपी भ्रष्टाचारका घटना भइरहेको आरोप लागेकाले त्यसलाई दण्डीत गर्न काँग्रेसका युवा केन्द्रीय सदस्यहरुको अपिल छ । उनीहरुले अहिले सम्म भइरहेको परिक्षणको गति अत्यन्त सुस्त रहेकोले परिक्षणको दायरा र गति बढाउनु पर्ने र परिक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्ने माग गरेका छन् । साथै कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परिक्षणका लागि चाहिने परिक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न र कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अबरोध उत्पन्न नहुने तर्फ ध्यान दिन उनीहरुले सुझाव दिएका छन् । बिदेशबाट नेपाल आउन चाहने नेपालीहरुलाई सहजै आउने ब्यवस्था मिलाइनु पर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राखिनुपर्ने र आबश्यक स्वास्थ्य परिक्षणको प्रकृया पुरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन काँग्रेसका युवा नेताहरुको आग्रह छ ।