सुनको भाउ ६ वर्ष यताकै महंगो

प्रकाशित मिति:

सुनको भाउ ६ वर्ष यताकै महंगो भएको छ । आज सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ । यो वर्ष लागे पछि सुनको झण्डै ५ हजार रुपैयाँले बढ्यो । गएको वैशाख महिनामा ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा त्यसपछि निकै उतारचढाव आयो । गएको साउन ३० गते तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको सुन आज ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुन महंगिएकाले नेपाली बजार पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको भाउ आज अन्तर्रा्ष्ट्रिय बजारमा प्रतिऔँस १२ सय ३८ डलर छ । यो दसैंमा प्रतिऔँस १२ सय २१ देखि १२ सय ३० डलरको हाराहारीमा रहेको भाउ हिजोदेखि बढ्न थालेको हो । हिजो भन्दा आज अन्तर्रा्ष्ट्रिय बजारमा सुन प्रतिऔँस ६ डलरले बढेको शाक्यले बताउनुभयो । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने देखिएको पनि उहाँले बताउनुभयो ।