मुख्यमन्त्रीद्धारा कोरोना रोकथामका लागिसर्वदलीय बैठक आब्हान

प्रकाशित मिति:

रीमा बि.सी. बुटवल,चैत २९ गते ।प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका काम र आगामी योजना बिषयमा सर्वदलीय बैठक राखेर जानकारी गराउनुभएको छ । प्रदेश नं. पाँचमा तीन तहका सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म गरेका काम र योजनाका विषयमा जानकारी गराउँदै उहाँले सबैको सहकार्य र सहयोगबाट नै कोरोना विरुद्धको लडाई जित्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आइसियु सहितको कोरोना विशेष अस्पताल तयार गरी उपचार शुरु गरेको जानकारी गराउँदै भैरहवामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परिक्षण भइरहेको केही दिनमै नेपालगञ्ज र दाङ्गमा पनि परिक्षण छिट्टै सुरु गरिने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेलले नेपाल भारत सीमा क्षेत्रमा कडाई गरिएको र सशस्त्र प्रहरी बलको आवश्यक संख्या थप गरी परिचालन गरिएको बताउनुभयो । स्थानीय तहहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन र क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको बताउनुभयो ।

कोरोना विरुद्धको अभियानलाई सफल बनाउन सबैको समन्वय र सहकार्यबाट संम्भव भएको बताउदै मुख्यमन्त्री पोखरेलले एकताबद्ध भई कोरोना विरुद्धको लडाईमा लाग्न सबै राजनीतिकदलहरुलाई आग्रह गर्नुभयो ।सर्बदलीय बैठकमा प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, संसदीय समितिका सभापति दधिराम न्यौपाने, हरि रिजाल, कांग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेश सभा सदस्य फकरुद्दीन खान, विजय जयसवाल, समाजवादी फोरमका प्रदेश सभा सदस्य सन्तोष पाण्डे र राजमो प्रदेशसभा सदस्य तारा जिसी सहभागी हुनुहुन्थ्यो ।बैठकमा सहभागीहरुले कोरोना विरुद्धको लडाई सरकारको मात्रै नभएर सबैको साझा भएकाले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी गराउनुभयो ।