देशभर आठ हजार बढी क्वारेन्टाइनमा, ८२ जना आइसोलेसनमा

प्रकाशित मिति:

काठमाडौं, चैत – देशभर आठ हजार ८२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारले सञ्चालन गरेका क्वारेन्टाइनमा आठ हजार ८२ जना रहेका छन्। यस्तै, आइसोलेसनमा काठमाडौं उपत्यकामा १५ र बाहिर ६७ जना गरी ८२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको निःशुल्क कल सेन्टर ११३३ र १११५ मा गत २४ घण्टामा तीन हजार ४० जनाले जिज्ञासा रोखेकामा उनीहरुको जिज्ञासा सम्बोधन गरिएको छ। पछिल्लो २४ घण्टामा रेड जोनमा पाँच जना रहेका छन्। अहिलेसम्म १८९ जना रेड जोन लिष्टमा छन्। उनीहरुलाई स्वास्थ्यमन्त्रालयले महाशाखामार्फत ट्रेसिङ गर्ने काम गरिरहेको छ। कोभिड–१९ का बारेमा मन्त्रालयको वेब पेज, ‘हाम्रो स्वास्थ्य’ एप्स र कल सेन्टरबाट आवश्यक जानकारी दिने गरिएको र दैनिक ४ः१५ बजे विवरण लाइभ सार्वजनिक गर्ने गरिएको छ।

क्वारेन्टाइनमा बस्नेसँग कल सेन्टर, वेब पेज वा ‘हाम्रो स्वास्थ्य’ एप्स बाट सिधा सम्पर्क भइरहेको र कोही छुटेको भए भए जोडिनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

शनिबार आयोजित नियमत पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकाटाले भने, “यसको प्रयोग गरिदिन सबैमा आग्रह गर्दछु, प्रविधिको प्रयोग गर्दा आफ्नो स्वास्थ्यका बारेमा जानकारी पाउन सकिन्छ, दोहोरो संवाद गरेर जिज्ञासा मेटाउन सहज हुन्छ र आएका सुझावअनुसार हामीलाई रणनीति बनाउनसमेत सहयोग पुग्छ।”

नयाँ सङ्क्रमित छैनन्

मन्त्रालयले आजसम्म नौ जना मात्रै कोभिड–१९ बाट सङ्क्रमण रहेको र विगत केही दिनदेखि नथपिएको प्रष्ट पारेको छ। नौमध्ये आठ जना उपचाररत छन्। चार जना सेती प्रादेशिक अस्पतालमा, दुई जना टेकु अस्पताल र दुई जनाको बाग्लुङ अस्पतालमा उपचार जारी छ।

नेपालमा माघ ९ गते पहिलो पटक चीनको उहानबाट आएका नेपालीमा कोरोना देखिएको थियो। उनी उपचारपछि निको भएका छन् भने अन्यको उपचार चलिरहेको छ। पछिल्ला समयमा भारतबाट आउनेहरुबाट जोखिम बढ्दो रहेकाले सरकारले नाकामा कडाइ गरेको छ।

चीनको उहानमा गत डिसेम्बर ३१ मा पहिलो पटक देखिएको कोभिड–१९ विश्वकै लागि नयाँ रोग हो। अहिलेसम्म विश्वमा झण्डै १६ लाख सङ्क्रमित भएकामा एक लाख बढीको मृत्यु भइसकेको छ। दुई सयभन्दा बढी देशमा रोग देखिएको छ । धेरैजसो देशले सङ्क्रमण रोकथामका लागि लकडाउन निर्विकल्परुपमा अपनाएका छन्। नेपालले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ।