कोरोनाबाट पाठ सिक्दै उत्पादनमा जुट्न गल्याङ नगरप्रमुख अधिकारीको आग्रह

प्रकाशित मिति:

गल्याङ/गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले उत्पादनमा अझै बढि जुट्ने बेला आएको बताउनुभएको छ । आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) ले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशका लागि गरेको सहयोग रकम ग्रहण गर्दै उहाले विश्वकै आर्थिक अवस्थामा समस्या पर्ने देखिएकोले यसको प्रत्यक्ष असर नेपालले भोग्नुपर्ने बताउनुभयो । नगर प्रमुख अधिकारीले भन्नुभयो –‘आर्थिक संकटबाट जुट्नका लागि उत्पादनमा लाग्नुको विकल्प छैन ।’ विकसित देशहरु पनि अहिले कोरोना भाइरस सँगको लडाइमा रहेको भन्दै उहाँले नेपाल पनि यसको जोखिमबाट बच्न सचेत भैरहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले विकसित देशहरुमा बेरोजगारीको अवस्था सिर्जना हुने र त्यसको मारमा नेपाली पनि पर्न सक्ने भएकाले अब नेपालमै उत्पादन गर्ने समय आएको बताउनुभयो । उहाँले कृषि क्षेत्र मार्फत उत्पादनमा लाग्नुपर्नेमा जोड दिदै त्यसो गर्न नसकिए भोकमरीको समस्या आउन सक्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो – ‘गल्याङ नगरपालिकामा रहेका बाँझो जग्गाको सदुपयोगकका लागि नगरपालिकाले यसअघि अगाडि सारेको भुमि बैंकको अवधारणालाई अझै राम्रो संग कार्यान्वयन हुनेछ ।’उहाँले अहिले कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउनुपर्ने अवस्था आएकाले लकडाउनलाई सबैले साथ दिनुपर्ने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले कहिलेसम्म यो सन्त्रास रहन्छ भन्ने कुराको कुनै टुङ्गो नभएकाले साबधानी अपनाएर बस्नुको विकल्प नभएको बताउनुभयो ।
सहयोग हस्तान्तरण गर्दै आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था आक्वाका अध्यक्ष पदम अर्यालले थोरै भएपनि नगरपालिकाको राहत कोशमा रकम जम्मा गरी एक्यबद्धता जनाउन खोजेको बताउनुभयो । यसैवीच, गल्याङ नगरपालिकामा स्थापना गरिएको राहत कोशमा अहिलेसम्म पाँच लाख रुपैयाँ सहयोग रकम जम्मा भएको छ । कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्नहरुको सहयोग गर्न स्थापना गरिएको राहत कोशमा आइतबारसम्म पाँच लाख रुपैयाँ राहत रकम संकलन भएको हो ।

आइतबार आँधिखोला बहुउराहत कोशमा गल्याङ बचत तथा ऋण सहकारी संस्थाले राहत कोशका लागि ४० हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ ।
यसअघि राम्दीका समाजसेवी व्यक्तित्व तथा विभिन्न संस्थाहरुले पनि राहत कोशका लागि रकम जम्मा गरेका छन् । राम्दीको श्री सुनगुफा युवा क्लबले ११ हजार एक सय ११, श्री राधाकृष्ण आमा समूहले १० हजार एक सय ११ र श्री राधाकृष्ण गौशाला आश्रमले पाँच हजार एक सय ११ सहयोग गरेका छन् ।
यस्तै, राम्दीकै गण्डकी होटलका प्रोपाइटर राजकुमार श्रेष्ठले राहत कोशमा २० हजार एक सय ११, श्री ब्रह्मा विष्णु महेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रोपाइटर शिबहरी अमात्यले २१ हजार एक सय ११ र माया भट्टराईले एक हजार १५ रुपैयाँ गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा सहयोग गर्नुभएको छ ।