बुटवलको कोरोना विशेष आइसोलेसनमा आईसीयू निर्माण

प्रकाशित मिति:

उपचार अभावमा एक जनाको मृत्यु भएको आरोप लागेको बुटवलको औद्योगिक क्षेत्रस्थित धागो कारखानाको आइसोलेसन विशेष अस्थायी अस्पतालमा सघन उपचार कक्ष आईसीयू निर्माण भएको छ । १० चैतदेखि आइसोलेसन सेवा आरम्भ गरिएको उक्त अस्पतालमा गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा सघन उपचार कक्ष आईसीयू निर्माण गरिएको हो ।

उक्त सघन उपचार कक्ष आईसीयू स्थापनामा करीब २ करोड लगानी भएको जनाइएको छ । आठ थान आईसीयूका बेड सहित आवश्यक ४ थान भेन्टिलेटर, ८ थान मनिटर लगायतका उपकरणहरु मुटु अस्पतालले सहयोग गरेको जनाएको छ ।मुख्यमन्त्री पोखरेलले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंसा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए ।उक्त आईसीयू कक्षका लागि रुपन्देहीका संघसंस्थाहरुको सञ्जालले करीब ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने तयारी गरेको छ भने अस्पतालका लागि आवश्यक ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ ।

उक्त अस्पतालका लागि आवश्यक पर्ने थप रकम बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रादेशिक अस्पताल र प्रदेश सरकारले उपलब्ध गराउने छन् ।यस क्षेत्रमा हालसम्म कोरोनाको संक्रमण भएको पुष्टि नभएको भएपनि कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर दैनिक चारपाँच जना बिरामी आउने गरेका छन् । पाल्पाका बाबुराम थापाको आईसीयू अभावका कारण मृत्यु भएपछि आईसीयू स्थापना गर्न दबाब परेको थियो ।

कोरोनाको संक्रमणको बढ्दो त्रासका कारण सम्भावित खतरा तथा छिमेकी देशमा फैलिदै गएको प्रभावलाई हेरेर पूर्व तयारी स्वरुप सघन उपचार कक्ष आईसीयू निर्माण गरिएको अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले बताए ।विश्वव्यापी रुपमा फैलिएको कोरोनाको त्रासमा रहेका बेला हुन सक्ने मानवीय क्षतिलाई कम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सघन उपचार कक्ष आईसीयू स्थापनामा उपकरणहरु सहयोग गरेको गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले बताए ।