कोरोना : विश्व शक्ति–समीकरणमा परिवर्तनको संकेत , अबको विश्वमा ‘विसि’ र ‘एसि’ प्रचलनको सम्भावना

प्रकाशित मिति:

धर्मेन्द्र झा-  कोरोना भाइरस कोभिड–१९० को दुष्प्रभावलाई दृष्टिगत गरी सरकारले नेपालभरि नै लागू हुनेगरी लकडाउनको समयावधि पुनः एक साता बढाएको छ । योसँगै चैतको २५ गतेसम्म लागू हुने लकडाउनको पूरा अवधि १५ दिनको हुनेछ । तर लकडाउनको यही नै अन्तिम अवधि हुने कुरा भने अहिले नै भन्न सकिने अवस्था छैन । सरकारसम्बद्ध सूत्रहरुका अनुसार २६ गतेदेखि लागू हुनेगरी एक साताको लकडाउन अझै बढाउने सरकारी तयारी छ । वास्तवमा यसलाई अन्यथा भन्न मिल्दैन । यो देश र जनताका लागि वाध्यात्मक आवश्यकता हो । सबैले सहयोग गर्नु अपरिहार्य छ । यतिमात्र होइन, आवश्यकताको बोध गरिएछ भने सरकारले लकडाउनको समयावधि फेरि पनि थप्न सक्छ, नेपाली जनता मानसिकरुपले तयार हुनु आवश्यक छ । औषधीय विज्ञानले कुनै चमत्कार नदेखाएसम्म लकडाउनभन्दा अर्को उपयुक्त विकल्प विश्वसामु छैन । लकडाउनले यो भाइरसको सर्ने चक्रलाई रोक्न सघाउने विश्वास गरिन्छ । अहिले यो भाइरसले विश्वका कुनै पनि देशलाई छोडेको छैन । कुनै पनि व्यक्तिलाई माया गरेको छैन । यसले कसैसँग भेदभाव पनि गरेको छैन । यस्तोमा आँखाले नदेखिने करिव सात नानो मिटरको यो भाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त बनाइदिएको छ । सम्पूर्ण सृष्टि र प्रकृतिमाथि नै विजयको सपनाका साथ अघि बढिरहेको मानव समुदाय यो आँखाले नदेखिने भाइरसका सामु निरीह बनेको छ । यसको उपचारका सन्दर्भमा कुनै सफलता प्राप्त हुन सकिरहेको छैन, न त कुनै भ्याक्सिन बन्न सकेको छ न त कुनै अन्य औषधिकै विकास हुन सकेको छ । वैज्ञानिकहरु यसको उपचार खोज्न क्रियाशील रहे पनि सफलता प्राप्त हुन सकेको छैन । माथिका कुराहरुका आधारमा एउटा कुरा त प्रमाणित हुन्छ, मानिसले, भौतिकरुपमा जतिसुकै उपलब्धि प्राप्त गरे पनि, प्रकृतिको जतिसुकै विश्लेषणको दावी गरे पनि, प्रकृतिका सामु पराजय भोगेको पक्कै पनि हो । एउटा सानो आकारको खतराको पूर्वानुमान आजको आधुनिक विज्ञानले गर्न सकेन । अर्को ग्रहको अनुसन्धान गर्न हिँडेको मानिसले आफ्नै ग्रहका बारेमा पनि यथेष्ट जानकारी प्राप्त गर्र्नसकेको रहेनछ । आफू अजर–अमर हुने होडमा दौडिरहेका मानिस मृत्युका सामु कति लाचार रहेछन् भन्ने कोरोना भाइरस प्रसारले पुष्टि गरेको छ । शक्तिशाली हौं भन्ने दावी गर्ने संयुक्त राज्य अमेरिका, वेलायत, फ्रान्स, स्पेन, इटाली, जर्मन, वेल्जियम, इरान, दक्षिण कोरिया, इरान, सउदी अरब, जापान, अष्ट्रेलिया, भारत, चीनजस्ता राष्ट्रहरु आज निश्चय पनि सोचिरहेका होलान, आखिर अहिलेसम्म उनीहरुले केका आधारमा आफ्नो शक्तिको मूल्यांकन गरेका थिए रु आज त तेलको मूल्य पनि ओरालो लागेको छ र डलरको मूल्य पनि झरिरहेको छ । सूनको मूल्यमा पनि गिरावटको संकेत देखिएको छ । आखिर शक्ति के हो त रु निश्चय पनि जीवन महत्वपूर्ण हो । तर भाइरसको वर्तमान कहरले यो जीवनमाथि कसैको नियन्त्रण रहेनछ भन्ने पुष्टि गर्दछ ।

इटालीमा मृतकको अन्तिम संस्कार गर्न चिहानको कमी भइसक्यो । फ्रान्सले विरामीको उपचार गराउन जर्मन पठाउनु परेको अवस्था छ । अवस्था कहाँसम्म भयानक छ भने सम्पूर्ण विश्व नै एक किसिमले अनिर्णयको वन्दी बनेको छ । अमेरिका, स्पेन, नर्वे, भारतजस्ता देशका सरकारले विश्व स्वास्थ्य संगठनको स्वीकृति नपर्खेरै आफ्ना नागरिकको जीवन रक्षाका लागि विगतमा मलेरिया एचआइभी संक्रमणको उपचारमा प्रयोग गरिने औषधि प्रयोग गर्न अनुमति प्रदान गरेको कुरा चर्चामा छ । वास्तवमा यो प्रक्रिया कति उचित हो त्यसै भन्न सकिँदैन तर एउटा कुरा के निश्चित हो भने यस यथार्थले ती देशहरुको हतोत्साहित मनःस्थितितर्फ भने स्पष्ट संकेत गर्दछ । अब ती देशहरु कसैगरी आफ्ना नागरिकको जीवनरक्षा गर्न पाए हुन्थ्यो भन्ने सोचमा छन् तर तिनका सामु विकल्पहरु अत्यन्तै न्यून छन् । यस पृष्ठिभूमिमा मानवका सामु अनेक प्रश्न सिर्जिएका छन् । सबभन्दा महत्वपूर्ण प्रश्न त मानव जीवनकै बारेमा । आजको विश्व सोच मानव जीवनलाई अधिकतमरुपमा परिस्कृत र सुविधासम्पन्न बनाउनतर्फ केन्द्रित छ । यही केन्द्रीकृत अवधारणालाई ‘विकास’ नामकरण गरिएको छ । कोरोनाको उपस्थिति रहेको आजको सन्दर्भमा यही कथित ‘विकास’को मूल्यांकन गर्ने हो भने एउटा कुरा त स्पष्ट हुन्छ, त्यो के भने निम्न प्रश्नको स्पष्ट उत्तर मानवसमक्ष छैन, विकासको लाभ के हो रु विकासको लक्ष्य के हो रु विकास कसका लागि रु मानव सभ्यताको इतिहासमा अनेक प्रगति गरिसकिएको दावी गरिरहिएको वर्तमान समयमा कोरोनाविरुद्ध लड्ने क्षमताको विकास गर्न सकिएको रहेनछ र अकालमा थुप्रै व्यक्तिले मृत्युवरण गर्न बाध्य भइरहनु परेको अवस्थामा निश्चय पनि विकासलाई नयाँ ढंगले परिभाषा र विश्लेषण गर्नुपर्ने आवश्यकताको बोध भएको छ । वर्तमानले स्पष्ट गरेको छ, अकालमा मृत्युवरण गर्न बाध्य भइरहेकाहरुको जीवनरक्षाका सन्दर्भमा हाम्रो विकास त अपूर्ण नै रहेछ, हामीले त मृत्युमात्रै निर्माण गरिररहेका रहेछौं । खासगरी दोस्रो विश्वयुद्धपछिका दिनहरुमा विश्व विकासको नेतृत्व अमेरिकाले गरेको मानिन्छ, यस अर्थमा अमेरिका नेता हो । स्वयं अमेरिका आफूलाई स्वधोषित विश्व नेता मान्दछ । वास्तवमा यी कुरा सत्य होइनन् । तर केहीले यसैलाई सत्य मान्दछन् । एकछिनका लागि मानिलिउँ यही नै सत्य हो भने पनि अमेरिका नेतृत्वको विश्वले कस्तो विकास गरेछ त रु स्वयं अमेरिका नै ध्वस्त हुँदै गरेको ९कोरोना संक्रमितहरुको सर्वाधिक संख्या यहाँ छ ।

आजको सन्दर्भमा निश्चय पनि अमेरिकाको शक्ति कम हुँदै गएको भन्ने मुल्यांकन गरियो भने त्यो असान्दर्भिक हुँदैन । हो, एकताका अमेरिका शक्तिसम्पन्न थियो, सबैले स्वीकार पनि गर्थे । यसैलाई दृष्टिगत गरेर टाइम पत्रिकाका संस्थापक प्रकाशक हेनरी लुसेले एक शव्दावलीकै आविष्कार गरे– ‘अमेरिकी शताव्दी’ । तर कोरोनाले अमेरिकाको यस अवस्थामा परिवर्तन ल्याएको छ भनेर भनियो भने त्यो असत्य हुने छैन । यस आधारमा भोलिका दिनमा विश्व गतिविधिको अध्ययन् गर्ने र सम्बोधन गर्ने सन्दर्भमा विसि–विफोर कोरोना ९कोरोनाभन्दा पहिला र एसि–आफ्टर कोरोना ९कोरोनापछि०को प्रचलन हुनेछ । संयोग नै मान्नुपर्छ यो प्रचलनको प्रारम्भ शायद सन २०२० बाटै हुनेछ । २०२० त्यो वर्ष हो, जसको सम्बन्ध द्वन्द्व र शान्तिसम्बन्धी प्रख्यात विद्वान योहान गाल्टुनसँग छ । शान्ति र द्वन्द्व अध्ययनका प्रमुख संस्थापक गाल्टुनले २००९ मा आफ्नो पुस्तकमार्फत् एक भविष्यवाणी गरेका थिए, जसको आशय थियो, सन २०२० सम्ममा अमेरिकी साम्राज्यको पतन हुनेछ । भविष्यवाणीहरु सबै नै सत्य हुन्छन् भन्ने कुनै जरुरी छैन । जहाँसम्म आजको कोरोनाले सिर्जना गरेको आतंकमय विश्व छ, सबैले समाधानका सन्दर्भमा निश्चय पनि अमेरिकातर्फ ध्यान केन्द्रित गरेका छन्, कम्तिमा ती देशहरु जसले अमेरिकालाई आज विश्वको नेता मानिरहेका छन् । तर अमेरिका स्वयं किंकर्तव्यविमुढ अवस्थामा छ । शायद उसलाई अब के गर्ने भन्ने कुरा फुरिरहेको छैन । विश्लेषकहरुका अनुसार मानसिकरुपमा अमेरिका अहिले जति निरीह देखिएको छ, इतिहासमा त्यति कहिले पनि थिएन । गाल्टुनको भविष्यवाणीलाई असत्य ठहर्याउने अवसर अहिले पनि अमेरिकासँग छ, कोरोनासँगको युद्धमा उसल जित्नै पर्छ । होइन भने विश्वको शक्ति समीकरणमा ठूलै परिवर्तन आउने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । शायद, कोरोनाले नयाँ महाशक्ति जन्माउनेछ, यस सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन ।
धर्मेन्द्र झा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुनुहुन्छ ।  साभार : दैनीक अनलाईन