कामै नगरी सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति:

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिका–१ रानीवनस्थित बालविकास माध्यमिक विद्यालयकी प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मल्ल २०७४ भदौदेखि माघसम्म बिदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि गैरकानुनी रूपमा उक्त अवधिको सम्पूर्ण हाजिरी गरी एकै पटक १ लाख ६२ हजार तलब भत्ता, दसैं खर्च, सञ्चयकोष थप रकम, बिमा रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको अभियोगपत्रमा उल्लेख छ ।

कानुनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई सघाएको आरोपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, बिना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोजलामा, शिक्षक प्रतिनिधि जितेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध समेत मुद्दा दर्ता गरिएको छ ।