राहत वितरणमा पक्षपात भएको कांग्रेसको ठहर

प्रकाशित मिति:

काठमाडौं, वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत वितरणमा पक्षपात भएको आरोप लगाएको छ। शनिबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सत्तारूढ दलको नेतृत्व रहेका कयौं स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको निष्कर्ष निकालेको हो। बैठकले राहत वितरणलाई न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन र स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ।

‘सत्तारूढ दलको नेतृत्व रहेका कयौं स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको प्राप्त विवरण अध्ययन पश्चात् बैठकले राहत वितरण कार्य न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्दै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग गरेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।यस्तै, बैठकले कराजधानी लगायतका शहरमा खान बस्न संकट भएपछि पैदल घर फर्किँदा अप्ठ्यारोमा परेका नागरिकलाई गाउँ पुग्ने प्रबन्ध अविलम्ब मिलाउन सरकारलाई आग्रह गरेको छ। सरकारले व्यवस्थापन गर्न ढिलाइ गरिरहँदा कहीँ कसैलाई पनि बाटोमा भोको पर्न नदिई गन्तव्यमा पुग्न सहजीकरण गर्न बैठकले पार्टीका स्थानीय तहलाई अपील गरेको छ।

बैठकले केन्द्र र प्रदेश सरकारले घोषणा गरेको राहतको बजेट अझैसम्म निर्धारित क्षेत्र र व्यक्तिसम्म नपुगेको विषयमा सरकारको ध्यानाकर्षण गराउने र तत्काल पुर्‍याउन आग्रह गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।बैठकले साना ठूला सबै व्यवसायीहरुले ब्यहोरिरहेको प्रतिकूल स्थितिमा निश्चित अवधिको ब्याज मिनाहादेखि ब्याज घटाउनेसम्मको निर्णयमा पुग्न सरकारलाई आग्रह पनि गरेको छ।