समाजसेवी शर्माद्वारा स्वास्थ्य सामग्री प्रदान

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-वालिङ ८ काफलडाँडा घर भई हाल काठमाडौंमा बस्दै आउनुभएका समाजसेवी डोलराज शर्माले वालिङ नगरपालिकालाई स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएको छ ।विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ को जोखिम न्यूनिकरणका लागि खटिनुहुने ब्यक्तिहरुलाई सहयोगस्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजसेवी शर्माले बताउनुभयो ।

अहिलेको विषम परिस्थितिमा आफ्नो जन्मभूमिमा केही भएपनि सहयोग गरौं भन्ने भावनाले स्वास्थ्य सामग्री नगरपालिकालाई उपलब्ध गराएको बताउनुभएको छ ।समाजसेवी शर्माले स्थानीय समाजसेवी केशभक्त गुरुङमार्फत वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।

शर्माले ह्विल चियर ११ थान, सोडियम हाईपोक्लोराईड ५ लिटरको ६ जार, पिपिई सेट १० थान, नेबुलाईजर १० थान, स्प्रे टयाङ्कर ३ थान, सर्जिकल मास्क १० हजार थान, पञ्जा २ हजार थान, थर्मोमिटर गन ६ थान नगरपालिकालाई उपलब्ध गराउनुभएको हो ।स्वास्थ्य सामग्री ग्रहण गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले समाजसेवी शर्माले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर कोभिड १९ का विरुद्धमा अझ सशक्त भएर अगाडि बढ्न उर्जा मिलेको बताउनुभयो । नगर प्रमुख खाँणले स्वास्थ्य सामग्री सहयोग गर्नुहुने समाजसेवी शर्मासहित उहाँको परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।