वालिङ नपाद्वारा झण्डै तीन हजार नागरिकलाई राहत वितरण

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ वालिङ नगरपालिकाले शनिबारसम्म झण्डै तीन हजार जना नागरिकलाई राहत उपलब्ध गराएको छ । कोरोना भाईरस संक्रमणका कारण सरकारले लकडाउन गरेपछि समस्यामा परेका दुई हजार ९ सय ५८ जना नागरिकलाई राहतस्वरुप खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।नगरका १४ वटै वडाबाट अति विपन्नहरुको तथ्यांक संकलन गरी वडा कार्यालयले नगर कार्यपालिकामा पठाएपछि नगरपालिकाले वडा÷वडालाई परिवार संख्याका आधारमा खाद्यान्नको कुपन उपलब्ध गराएर वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

नगरपालिकाले वडालाई उपलब्ध गराएको कुपन वडाले फेरि अति विपन्नहरुलाई वितरण गरेसँगै राहत पाउनेहरुले आँफूलाई पायक पर्ने पसलबाट खाद्यान्न लिएका हुन् ।राहत वितरण प्रक्रियालाई पारदर्शी, प्रभावकारी, विश्वसनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यले ‘कुपन सिस्टम’ द्वारा राहत वितरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

वडाले सिफारिस गरेका परिवार संख्यालाई राहत वितरणका लागि तोकिएको मापदण्ड अनुसारका खाद्यान्नहरु समावेश गरी १५ दिनलाई उपलब्ध गराईएको नगर प्रमुख खाँणले बताउनुभयो । एकल, दुई जना, चार जना र चार जनाभन्दा माथिको सदस्य संख्याका आधारमा चार तहमा परिवारको बर्गीकरण गरी राहतस्वरुप कुपन उपलब्ध गराईएको नगर प्रमुख खाँणले बताउनुभयो ।वालिङ नगरपालिकाले प्याकेज १ (एकजना मात्रै भएको) मा १४ वटै वडामा दुई सय ६९ जना, प्याकेज २ (दुई जनाको परिवार) तीनसय ६३ जना, प्याकेज ३ (चार जनासम्मको परिवार) एकहजार ३ सय ९१ जना र प्याकेज ४ मा (चार जनाभन्दा माथि संख्या भएको परिवार) नौ सय ३५ जनालाई राहत वितरण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

नगर प्रमुख खाँणका अनुसार वडा नं. १ मा कूल एकसय ९३ जना, २ मा तीनसय ३९ जना, ३ मा एकसय ३ जना, ४ मा एकसय ३५ जना, ५ मा एकसय ५ जना, ६ मा एकसय ७२ जना, ७ मा एकसय ३३ जना, ८ मा तीनसय ४४ जना, ९ मा तीनसय २९ जना, १० मा दुईसय ११ जना, ११ मा दुईसय १० जना, १२ मा एकसय २८ जना, १३ मा एकसय ७५ जना र वडा नं. १४ मा तीनसय ८१ जना गरी कूल दुई हजार ९ सय ५८ जनालाई १५ दिनलाई पुग्नेगरी राहत उपलब्ध गराईएको हो । नगरपालिकाले चामल, दाल, तेल, नुन, साबुन र बन्दा गोपी राहतस्वरुप उपलब्ध गराएको हो ।

नगरपालिकाले प्याकेज १ अन्तर्गत रु. चारसय ५६ बराबर मूल्य बराबरको खाद्यान्न एकलाख २२ हजार ६ सय ६४, प्याकेज २ अन्तर्गत रु. छ सय २१ को खाद्यान्न दुई लाख २५ हजार ४ सय २३, प्याकेज ३ मा रु. एक हजार ८१ को रु. पन्ध्र लाख ३ हजार ६ सय ७१ र प्याकेज ४ मा रु. एघार लाख ६५ हजार १० गरी कूल रु. तीस लाख १६ हजार ७ सय ६८ बराबर मूल्यको राहत वितरण गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।नगरपालिकाले राहतस्वरुप हालसम्म ३५ हजार ७ सय २५ केजी चामल, ४ हजार ५ सय ८८ केजी दाल, २ हजार ६ सय ४२ लिटर तेल, २ हजार ९ सय ५८ केजी नुन, २ हजार ९ सय ५८ थान साबुन तथा २ केजीका दरले बन्दा गोपी उपलब्ध गराएको छ ।हालसम्म रु. उन्नाईस लाख ६४ हजार ८ सय ७५ को चामल, रु. पाँच लाख ४ हजार ७ सय ३५ को दाल, रु. तीन लाख ९६ हजार ३ सय मूल्यको तेल, रु. ६२ हजार १ सय १८ को नुन, रु. ८८ हजार ७ सय ४० को साबुन अति विपन्नहरुलाई राहतस्वरुप उपलब्ध गराईएको वालिङ नगरपालिकाले जनाएको छ ।

राहत वितरण गर्दा घरबास नभएको, घर परिवारमा कुनैपनि सदस्यको जागिर नभएकोलाई पहिलो प्राथमिकतामा राखिएको थियो भने घर भएको, घर भाडामा नलगाएको, जग्गा जमिन नभएको र परिवारको कुनैपनि सदस्य रोजगारी नभएको, दैनिक ज्यालादारीमा कम गरी खाने परिवार वा ब्यक्तिलाई दोस्रो प्राथमिकतामा राखेर राहत वितरण गरिएको वालिङ उप प्रमुख कल्पना तिवारीले बताउनुभयो ।राहत प्याकेजमा समावेश गरिएको खाद्यान्नको परिमाण र दरभाउ पनि नगरभित्रका सबै पसलमा एउटै बनाईएको थियो । चामल सामा राम्रो प्रतिकेजी रु. ५५, अडहर दाल प्रतिकेजी रु. एकसय ४०, मुसुरो दाल प्रतिकेजी एकसय १०, भट्टमास तेल प्रतिलिटर रु एकसय ५०, आयो नुन प्रतिकेजी रु. २१ र साबुन प्रतिगोटा रु. ३० निर्धारण गरिएको उपप्रमुख तिवारीले बताउनुभयो ।नगरपालिकाले नगरभित्रका विभिन्न वडामा ब्यावसायिकरुपमा उत्पादन गरेका ताजा हरियो तरकारीहरु बन्दा, काउली, केराउ लगायतका तरकारीहरु पनि राहत प्याकेजमा समावेश गरिदिएकाले ब्यवसायिकरुपमा उत्पादन भएको तरकारीले राम्रो बजार प्राप्त गरेको छ ।

यसैबीच वालिङ नगरापालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा शनिबारसम्म कूल २९ लाख ४७ हजार ३ सय ९९ संकलन भएको छ । जसमा २२ लाख ५९ हजार ३ सय ९९ नगद र ६ लाख ८८ हजार बराबरको खाद्यान्न तथा साबुन वालिङ नगरपालिकालाई सहयोगस्वरुप प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताउनुभयो ।वालिङ नगरपालिकाले लकडाउनका कारण सिद्धार्थ राजमार्ग हुँदै लामो दूरीका पैदल यात्रुहरुलाई दैनिकजसो खाना खुवाउने गर्दै आएको छ ।