लकडाउनले दुध खपत नभएपछि पनीर र घ्यू उत्पादन

प्रकाशित मिति:

तोलाकान्त बगाले/वालिङ-लकडाउनका कारण उत्पादित दुधले बजार नपाएपछि यहाँका एक दुध ब्यावसायीले पनीर, नौनी घ्यू उत्पादन गर्दै आउनुभएको छ ।विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाईरसका कारण बजारमा भएका मानिसहरु गाउँ घरमा गएका कारण उत्पादित दुध पूरै खपत नभएकाले लामो समयसम्म राख्न सकिने गरी पनीर, नौनी घ्यू लगायतका परिकारहरु उत्पादन गर्दै आएको यूवा ब्यावसायी पिताम्बर डुम्रेले बताउनुभयो । यूवा ब्यावसायी डुम्रेको वालिङ नगरपालिका १२ मा ‘पनियारे कृषि फर्म’ मार्फत हाल ९५ वटा गाई तथा भैंसीबाट दैनिक दुई सय ७० लिटर दुध उत्पादन हुने गरेको छ ।

“लकडाउन अवधिमा एकसय ५० लिटर दुध बिक्री हुँदै आएको छ” यूवा ब्यावसायी डुम्रेले भन्नुभयो, “बजारमा पहिला खपत हुने दुध अहिले लकडाउनका कारण मानिसहरु गाउँ गाउँमा गएकाले दुध खपत नभएकाले लामो समयसम्म रहन सक्ने गरी पनीर, नौनी घ्यू लगायतका परिकार उत्पादन थालेको हुँ ।”यहाँ उत्पादन भएको दुध, पनीर, नौनी घ्यू वालिङ, गल्याङ तथा बयरघारी बजारमा बिक्री हुने गरेको यूवा ब्यावसायी डुम्रेले बताउनुभयो ।

“फर्ममा उत्पादन भएको दुध पूरै खपत नभएपछि यसै खेर फाल्न पनि भएन” यूवा ब्यावसायी डुम्रेले भन्नुभयो, “दुध पूरै खपत नभएपछि बाँकी रहेको दुधबाट केही समयसम्म राख्न सकिने वैकल्पिक परिकारहरु उत्पादन गरेको हुँ, जुन राम्रो बिक्री हुने गरेको छ ।”दुधसँगै पनीर, नौनी घ्यू वालिङ, गल्याङ, बयरघारी, बायँटारी लगायतका बजारमा रहेका डेरीहरुमा बिक्रीका लागि राख्ने गरिएकाले उपभोक्ताहरुले डेरीबाट आवश्यक परिकारहरु खरिद गरी लैजाने गरेको यूवा ब्यावसायी डुम्रेले बताउनुभयो ।

डुम्रेले अहिले दुधका अलावा दैनिक १५ केजी पनीर र ३ केजी नौनी घ्यू उत्पादन गर्दै आउनुभएको छ । पनीर प्रतिकेजी रु. ६ सय ५० र नौनी घ्यू प्रतिकेजी रु. ८ सय मा बिक्री हुँदै आएको छ ।लकडाउनका कारण फर्ममा उत्पादित दुध पूरै खपत हुन नसकेपछि चिन्तामा रहेका बेला केही समयसम्म रहन सक्ने परिकार उत्पादन थालेसँगै समस्या समाधान भएको यूवा ब्यावसायी डुम्रेले बताउनुभयो । उत्पादित बस्तुको बिक्री नभई खेर जाने अवस्था आएमा वालिङ नगरपालिकाले खरिद गर्ने बताएसँगै थप उर्जा बढेर आएको उहाँको भनाई थियो ।

“उत्पादित बस्तुहरु त्यसै खेर जान नदिनुहोला, खेरै जाने अवस्था आउन थालेमा नगरपालिकामा खबर गर्नुहोस् हामीले खरिद गरी बिक्री वितरणको ब्यवस्था मिलाउँछौं” पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले भन्नुभयो, “अहिले वालिङ नगरभित्रका ब्यावसायी पशुपालकहरु उत्साहित हुनुहुन्छ र उत्पादित बस्तुले राम्रो बजार पाएकाले खेर जाने अवस्था आएको छैन ।” वालिङ नगरपालिकाका १४ वडामा २५ वटा पशुपालन फर्महरु सञ्चालनमा रहेका पशु शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।वालिङ नगरपालिकाले पशुपालक ब्यावसायीहरुको फर्ममै पुगेर उत्पादित बस्तुको बजारीकरण, पशु आहारा, दानापानी ओसारपसारमा आईपरेका समस्याहरुकाबारेमा सहजीकरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।