लकडाउन प्रभावित पत्रकार कल्याण कोष स्थापना

प्रकाशित मिति:

बुटवल । बुटवलका अग्रज पत्रकार बालकृष्ण चापागाईले लकडाउन प्रभावित पत्रकार कल्याण कोष स्थापना गरेका छन् । कोषमा चापागाईले २५ हजार रुपैयां जम्मा गरेका छन् । लकडाउनका कारण रुपन्देहीका अधिकांश दैनिक र साप्ताहिक पत्रिकाहरु बन्द भएका, अन्य सञ्चार माध्यम पनि लकडाउनको असरका कारण पुर्ववत सञ्चालन हुन नसकेकाले श्रमजीवी पत्रकारहरु समस्यामा परेको भन्दै चापागाईले कोष स्थापना गरेका हुन् । कोष सञ्चालनका लागि एक अल्पकालीन संयन्त्र बनाई आर्थिक संकलन गरेर प्रभावित पत्रकारहरुलाई राहत दिइने उनले बताए ।

डेरामा बसेका, सञ्चार संस्थाबाट तलब नपाएका, कुनै कारणवश हालै मात्र जागिर छाडेर बसेका र अन्य कुनै आय स्रोत नभएका पत्रकारलाई राहत दिन कोष स्थापना गरेको हुं’–चापागाईले भने । कैयौं पत्रकारहरु समस्यामा परेर पनि कसैलाई भन्न सक्ने अवस्थामा नभएकाले अभिभावकको नाताले पहल लिएको उनले बताए । कोषमा सहयोग गर्न समाजसेवीहरुसंग अपील गरिने र वास्तविक समस्यामा परेका पत्रकारहरुलाई राहत दिइने चापागाईले स्पष्ट पारे । नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष चापागाई राष्ट्रिय समाचार समितिका पुर्व कार्यकारी अध्यक्ष र तत्कालीन प्रेस चौचारी नेपालका पुर्व केन्द्रीय अध्यक्ष पनि हुन् । उनी बुटवलबाट प्रकाशित दैनिकपत्र दैनिकका प्रधान सम्पादक र जनसंघर्ष दैनिकका संस्थापक सम्पादक हुन् ।