हायात होटेल १६ असारसम्म बन्द हुने

प्रकाशित मिति:

वैशाख, काठमाडौं । सरकारको समेत स्वामित्व रहेको हायात रिजेन्सी होटेल असारसम्म बन्द हुने भएको छ । ९ चैतबाट व्यवसायिक सञ्चालन बन्द रहेको यो होटेलले आइतबार एक सूचना प्रकाशित गर्दै होटेल १६ असार  जुन २०२०० सम्म बन्द हुने जानकारी गराएको हो । लकडाउन खुलेको अवस्थामा पनि होटेल पूर्ण रुपमा सुरक्षित र व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने भन्दै होटेल असारसम्म नै बन्द गर्ने निर्णय भएको होटेलका महाप्रवन्धक राजेश रामदासले उल्लेख गरेका छन् । कार्यस्थलमा संक्रामक रोगको रोकथाम तथा नियन्त्रणको समुचित व्यवस्था नभएसम्मका लागि होटेल बन्द गर्नु परेको उनको भनाइ छ । कर्मचारीसमेत होटेलसम्म आउन सक्ने सुनिश्चितता नभएको भन्दै होटेल बन्द हुने अवधि बढाइएको होटेलले जनाएको छ ।

होटेलले हायात रिजेन्सी काठमाडौंका सम्पूर्ण कामदार, कर्मचारी र व्यवस्थापकलाई १६ असारसम्म जगेडामा राख्ने निर्णय गरेको महाप्रवन्धक रामदासको भनाइ छ । जगेडामा रहेको अवधिमा कर्मचारी तथा श्रमिकले आधा तलब पाउने भएका छन् । परिस्थितिको मूल्यांकन गर्दै आगामी दिनमा थप निर्णय लिन सकिने व्यवस्थापनले उल्लेख गरेको छ। लकडाउनपछि व्यवसायिक रुपमा सेवा दिन सम्भव नभएपछि सञ्चालन बन्द भएका ठूला र तारे होटेलहरूमध्ये हायातले सबै सेवा रोकेको घोषणा गरेको हो । अन्य पाँचतारे होटेलमा भने आपतकालीन समयमा सेवा दिने गरी कर्मचारीको व्यवस्थापन गरेका छन्।