पुष्पकमल दाहाल आज भारत प्रस्थान

प्रकाशित मिति:

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकुमल दाहाल आज भारत प्रस्थान गरेका छन्। दाहाल इन्डिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन विहान ९ः४५ मा भारततर्फ प्रस्थान गरेका उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए। दाहाल ‘इन्डिया आइडिया कन्क्लेभ’ मा सहभागी हुने छन्। दाहाल शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको सापकोटाले जानकारी दिए।

उनका साथमा स्वकीय सचिव जोखबहादुर महरा पनि भारत प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल गत भदौमा पनि तीन दिने भारत भ्रमणमा गएका थिए। भारतसँग भएका सहमती सम्झौता कार्यान्वयनमा जोड दिने भन्दै भारत भ्रमणमा गएका दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च तहका नेताहरुसँग भेट गरेका थिए।

भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन विमानस्थलमा बोल्दै दाहालले आफू कुनै महत्वपूर्ण सरकारी पदमा नरहे पनि भारतले आफूलाई उच्च सम्मान दिएको बताएका थिए। भारत भ्रमणलगत्तै चीन भ्रमणमा गएका दाहालले चीनमा पनि भारतमा जस्तै सम्मान पाउने अपेक्षा गरेका थिए। तर चीनले भने दाहालको भ्रमणलाई खासै महत्व दिएको थिएन।

भारत भ्रमणमा गएको दुई महिना पुरा नहुँदै दाहालको दोस्रो भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको छ। भारतीय संस्थापन पक्षसँग निकट मानिने इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन दाहाल पार्टीको तल्लो तहको एकता चटारो चलिरहेको बेला जान थालेका हुन्। कार्यक्रममा भारतका अर्थमन्त्री तथा उत्तर प्रदेशका मुख्य मन्त्री समेतको सहभागिता हुने जनाइएको छ।