पञ्चकन्याका कर्मचारीले प्रकोप कोषलाई दिए पांच लाख

९ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमास्थित पञ्चकन्या समुहमा कार्यरत कर्मचारीहरुले कोरोना नियन्त्रण तथा उपचारका लागि तिलोत्तमा नगरपालिकालाई पांच लाख रुपैयां दिएका छन् । पञ्चकन्यामा कार्यरत ज्यालादारी र करारमा काम गर्ने मजदुर वाहेक उपल्लो तहका तीन सय ५० जना कर्मचारीले दुई दिनको तलब कोरोना कोषलाई दिएका हुन् । कर्मचारीबाट जम्मा भएको करिब १० लाख रकम मध्ये पांच लाख रुपैयां सोमबार पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुले तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।

समूहले नगरपालिकालाई एकहजार थान मास्क समेत प्रदान गरेको छ । कर्मचारीबाट संकलित बांकी रकम उद्योगमा कार्यरत ज्यालादारी र करारमा काम गर्ने मजदुर तथा तिलोत्तमा १५ कोटिहवा क्षेत्रका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिने महाप्रवन्धक साहूले बताए । पञ्चकन्या समुहले आफ्ना करिब पांच सय कर्मचारी तथा मजदुरलाई चैत महिनाको पुरै तलब दिएको र त्यसबाट दुई दिनको तलब कोरोना नियन्त्रण तथा उपचारका लागि योगदान गर्न आग्रह गरिएको उनले बताए । कोरोना कोषलाई रकम दिएको प्रदेश ५ मा यो पहिलो हो । चेक बुझ्दै नगरप्रमुख घिमिरेले हालसम्म नगरपालिकाले स्थापना कोषमा ७५ लाख रुपैयां भन्दा बढी रकम जम्मा भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया