अबको अपरिहार्यता, गाउँगाउँमा सामुदायिक बीउ बैंक स्थापना, रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन

९ बैशाख २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


पुस्पा ज्ञवाली – आज सिङ्गो विश्वनै कोरोना भाईरसको महामारीबाट आक्रान्त बनिरहेको अवस्थामा, धेरैजसो देशहरु लकडाउन भैसकेका छन् | सम्पूर्ण उद्योग तथा कलकारखाना बन्द छन् जसले गर्दा सम्पूर्ण विश्वको आर्थिक स्तर एकदमै घटेको छ | यसलाई अहिले जैविक युद्धको रुपमा लिइएको र महामारीको बढ्दो दरलाई नियाल्दा आगामी दिनहरुमा अझै धेरै भयाबह स्थिति नआउला भन्न सकिन्न | यस सन्दर्भमा नेपाल जस्तो विकासोन्मुख राष्ट्र, जहाँ दुइतिहाइ जनसंख्या कृषिमा आश्रित भइ देशको अर्थतन्त्रमा करिब एकतिहाई योगदान दिन्छन, रोजगारीको अभावमा ठुलो संख्यामा युवाहरु बैदेशिक रोजगारीमा छन्, मध्यपहाडी ग्रामीण क्षेत्रमा जनशक्तिको अभावमा खेतीयोग्य जग्गा बाझो रहेको छ, भने शहरी क्षेत्रमा जनसंख्याको चाप वृद्धि हुदै गएको र आवश्यकता पुरा गर्न अत्यधिक मात्रामा आयातित बस्तुमा निर्भर रहनुपर्ने अवस्था छ| अहिले बिदेशमा पनि अवस्था विकराल भैसकेको हुदा रोजगारीको लागि भौतारिएका युवाहरुले आफ्नो जन्मभूमि फर्किन पर्ने हुनसक्छ | ठुला देशहरुमा पनि कृषि उपजको उत्पादन तथा वितरण अवरुद्ध हुदा विभिन्न सामानहरु नेपालमा आयात हुन सकेका छैनन | कृषक को लागि आवश्यक कच्चा पदार्थ, मल, बीउ, विषादी, आधुनिक यन्त्रहरु आदि उत्पादन र आवश्यक स्थानमा समयमै उपलव्ध गराउन असम्भव हुने निश्चित देखिन्छ | यी समस्यालाई मध्यनजर गर्दा भोलिका दिनमा कोरोनाको संक्रमणले भन्दा बढी भोकमरीको मारले संसारमा धेरै जनको क्षति नहोला भन्ने कुरामा दुइमत छैन |

“अनिकालमा बीउ जोगाउनु, हुलहालमा जीउ जोगाउनु” भनेझैँ आउनसक्ने भोकमरीको सामना गर्न सर्वप्रथम त पुरानो जातका बीउको संरक्षण एवम सम्बर्द्धन गर्ने र नयाँ जातको विकास गर्नुपर्छ | जसको लागि स्थानीय स्तरमा उपलब्ध भएका रैथाने बालीका जातहरु बारे तथ्यांक संकलन गर्ने, बीउ मेलाको आयोजना गरी जम्मा भएका बीउलाई सामुदायिक बीउ बैंक स्थापना गरी राख्न सकियो भने कृषकलाई समयमै उचित बीउ उपलब्ध हुने र हाईब्रिड बीउमा रहने निर्भरता हटाउने, उन्नत जातको वर्णशंकर बिउको बढ्दो प्रयोगसंगै लोप हुने अवस्थामा पुगेका स्थानीय तथा रैथाने जातको संरक्षण हुनुका साथै स्थानीय हावापानीसंग सुहाउने, रोगकिरा सहन सक्ने, गुणस्तरीय, जलवायु परिवर्तन तथा प्रतिकूल मौसम अनुसारको नया जातका बीउ विकास गर्न सकिने हुन्छ | यसैगरी स्थानीय धर्म र संस्कृतिसंग सम्बन्धित  तर लोपोन्मुख भएका जातहरु सहित ती जातबारे ज्ञान सीप र प्रविधिका विषयमा अभिलेखीकरणसहित संरक्षण गर्ने भएकाले भावी पुस्ताका लागि महत्वपूर्ण योगदान पुग्नेछ | सामुदायिक बीउ बैंक नेपालको लागि नयाँ कुरा त होइन तैपनि धेरैजसोका लागि नयाँ अवधारणा हुनसक्छ | सामुदायिक बीउ बैंक कृषकलाई आवश्यक पर्ने स्थानियस्तरमा पाइने थरीथरीका बाली तथा जातहरुको शुद्ध तथा गुणस्तरीय बीउ र ती बिउको बारेमा जानकारी पाइने थलो हो, जसको स्थापना, व्यवस्थापन, बिउको नियमित रुपमा उत्पादन ,सुरक्षित भण्डार, कारोबार ( बीउ लिने र दिने काम), सुलभ रुपमा बिक्रीवितरण स्थानीय कृषक समूह वा सहकारी संस्थाले गर्ने व्यवस्था गरेको हुन्छ |

हालसम्म नेपालमा कृषकका लागि बीउ प्राप्त गर्ने श्रोत को रुपमा रहेका कृषि अनुसन्धान केन्द्र , कृषि फर्म केन्द्र , एग्रोभेट , बीउविजन कम्पनी आदिले अबको दिनमा प्रचूर मात्रामा बीउ उपलब्ध गर्न सक्ने स्थिति छैन किनकी बीउ अनुसन्धान तथा उत्पादन र वितरणको लागि आवश्यक सामग्रीको अभाव निश्चित छ | त्यसैले यसको विकल्पको रुपमा सामुदायिक बीउ बैंक स्थापना तथा संचालन गरेर, विभिन्न रैथाने पोषणयुक्त बालीहरु जस्तै कोदो , कागुनो, चिनो , फापर, जौ, उवा , लट्टे आदिले दैनिक खानुपर्ने भातलाई प्रतिस्थापन गर्न सकियो भने भविष्यमा आउन सक्ने खाध्यसङ्कटबाट केही न केही त राहत पक्कै पाउन सकिन्छ |  हाल नेपाल सरकारले जनतालाई खाद्यान्नको राहत दिईरहदा त्यसको साथसाथै सामुदायिक बीउ बैंक स्थापना मा अनुदानको व्यवस्था गर्न सकेमा , स्थानीय तथा रैथाने जातको संरक्षण हुन्छ |,कृषकलाई आवश्यक शुद्द र गुणस्तरीय बीउ समयमै उपलब्ध हुन्छ |, बीउमा कृषकको अधिकार र खाध्यसम्प्रभुताको सुनिश्चितता गर्न सकिन्छ |,प्रतिएकाइ जमिनको उत्पादकत्व वृद्धि हुन्छ |,  कृषि जैविक विविधताको संरक्षण एवम प्रवर्द्धन हुन्छ | नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा परम्परादेखि नै खेती गरिदै आएका आलु, मकै, सिमि , फापर. गहु, जौ, उवा, चिनो, कागुनो, लट्टे, कोदो आदिबाट बनाइने परम्परागत खाद्यपरिकारहरु कम स्वादिला भएपनि गुनिला र पौष्टिक तत्वले भरिपुर्ण त हुन्छन नै , अझै धेरैजसो औषधीय गुणका हुन्छन | साथै यिनीहरु चिसो तथा सुक्खा सहने , रोगकिरा कम लाग्ने , रुखो तथा पाखो जमिनमा पनि बढी फल्ने र बजारभाउ पनि राम्रो पाइन्छ | यतिधेरै फाइदा हुदाहुदै पनि यी बालीहरुको सरकारी निकायले अध्ययन अनुसन्धान र प्रवर्द्धनमा चासो नदिदा , उपयुक्त खेती प्रविधि तथा ज्ञानको कमी ले गर्दा यिनीहरुको शुद्ध र गुणस्तरीय बिउको उत्पादन र प्रवर्दन हुन सकेको छैन |तराई तथा धेरै मध्यपहाडी क्षेत्रमा कृषिमा आधुनिकीकरण संगै स्थानीय जातका बिउको प्रयोग नगरी उन्नत तथा वर्णशंकर जातका बिउको अत्यधिक प्रयोग भैरहदा परम्परादेखि गरिदै आएका बालिका जातहरु हराउने स्थितिमा पुगेका छन् | तर यस महामारीले गर्दा यदि ती उन्नत बिउहरु उत्पादन तथा वितरण गर्न सकिएन भने त भोकमरी नै हुन्छ | अब पनि समयमै स्थानीय जातको निरन्तर संरक्षण र संवर्द्धन गर्नको लागि सामुदायिक बीउ बैंक स्थापना गर्न कदम चलिएन भने कृषकहरुले पहिले आफुले खेती गरेका स्थानीय जातहरुको कथा भनेर अथवा सुनेर चित्त बुझाउने दिन आउन सक्छ |विश्वका धेरै देशमा जस्तै हाम्रो देश नेपालमा पनि विभिन्न ठाउमा सामुदायिक बीउ बैंक स्थापना भएका त छन् तर ती बैंक मा सबै कृषक को समान पहुच पुग्न सकेको छैन |हाल कुनकुन संस्था ले कति कसरि संचालन गरेका छन् भन्ने कुराको सहि तथ्यांक पनि छैन | अब भने यस सम्बन्धि काम लाई एकिकृत र थप परिस्कृत बनाउदै लगेर, सम्पूर्ण स्थानीय तहलाई जिम्मेवारी दिई प्रत्येक तह मा कम्तिमा एउटा सामुदायिक बीउ बैंक को अवधारणा अगाडी बढाउदै गएमा, स्थानीय तथा उन्नत जातको बीउलाई संरक्षण र प्रवर्धन भइ खाध्य सङ्कट को जोखिमलाई कम गर्न सकिन्छ कि |

”सबै बीउ अन्न वा दाना हुन सक्छ , तर सबै अन्न वा दाना बीउ हुन सक्दैन “ यानकी कुनै पनि बालीको उत्पादन को लागि उन्नत तथा गुणस्तरयुक्त बीउ एक आधारभूत साधन हो | साथै गुणस्तर बिउको प्रयोगबाट मात्रै उत्पादनमा १० – १५ % वृद्धि भएको र १० – ३० % बिउको दरमा कटौती गर्न सकिने प्रमाणित भैसकेको छ | किसानले चाहेको बेलामा गुणस्तरीय बीउ सहज रुपमा सुलभ मुल्यमा आवश्यक स्थान मा गराउनु भनेको खाध्य सुरक्षाको सुनिश्चितताको लागि जग बसाल्नु हो |
तर नेपाल का धेरैजसो व्यावसायिक किसानले प्रयोग गर्ने हाईब्रिड बीउहरुबाट उत्पादित बिउको स्थानीयमा जस्तो उमारशक्ति कायम नहुने हुदा प्रतिबर्ष नयाँ बिउको प्रयोग गर्नुपर्ने हुन्छ | नेपाली किसानहरु भने हाईब्रिड बिउको लागि भारतबाट आयातित बीउमा परनिर्भर रहने गरेकोमा यस बेला ,कोरोना भाइरसको महामारीले गर्दा गर्नुपरेको लकडाउनले समयमै बिउको आयात असम्भव हुन सक्ने देखिन्छ | यदि बीउ उपलब्ध भएपनि किसानले महँगो मूल्य तिरेर किन्नुपर्ने हुनसक्छ | नेपालको धेरैजसो तराईका तथा पहाडका व्यवसायिक कृषकले स्थानीय बिउमाथि आफ्नो स्वामित्व गुमाइसकेका छन् | यी यावत समस्यालाई मध्यनजर गर्दै सरकारी, गैरसरकारी तथा अन्य निकायहरुले देशभरी नै स्थानीय रैथाने जातका र देशमै विकास गरिएका उन्नत जातका बालीहरुको बिउको संरक्षण , सम्बर्द्धन, प्रवर्धन गर्नुपर्ने आवश्यकता देखिन्छ| यसैगरी देशका विभिन्न ठाउमा सामुदायिक बीउ बैंकको स्थापना र संचालन गरी यथावत परनिर्भरता कम गर्दै, बीउविजन आपूर्ति सहज बनाउनु, खाद्य सुरक्षामा टेवा पुर्याउदै जैविक महामारीको युद्ध को सामना , दिगो कृषि क्रान्ति को लागि अपरिहार्य मनिन्छ | अब चाहिँ हामीले सैद्धान्तिक पक्षमा वकालत गरिराख्नु भन्दा भोलि हुन सक्ने भोकमरीको समाधान पनि बेलैमा खोजिराख्नु जरुरी भैसकेको छ । भोकमरी किन जटिल बन्दै जानुको मुख्य कारण भनेको, यहाँको कृषिउपज यसै पनि हामीलाई अपर्याप्त छँदै छ, त्यसमाथि बाहिरबाट खाने मुख लाखौंको संख्यामा थपिने र खाद्यपदार्थ आउन रोकिन सक्ने सम्भावना अत्यधिक छ । एकातिर श्रमशक्तिको अभावमा जमिन बाझिरहेको, अर्कोतिर बेरोजगारी र भोकमरीको समस्या झेलिरहेको हाम्रो देशमा यो महामारीको समय कृषिक्रान्तिको लागि एउटा ठुलै अवसर बन्न सक्छ | अब बेला आएको छ, फर्क युवा आफ्नै माटोमा, यही दशनङ्ग्रा खियाऊ, यही रगत पसिना बगाएर हाम्रै उर्बर भूमिमा सुन फलाउं, आत्मनिर्भर बनौं , सिंगारौँ मातृभूमिलाई र कृषि क्रान्तिबाटै जैविक महामारीको युद्ध जितौ | लेखक  पुष्पा ज्ञवाली  रुरु-५ गुल्मी  हाल – अध्ययनरत( स्नातक कृषि विज्ञान संकाय आठौँ सत्रान्त ) कृषि तथा पशुविज्ञान अध्ययन संस्थान, पक्लिहवा रुपन्देही |

फेसबुकबाट तपाईको प्रतिक्रिया