काठमाडौ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. वावुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली दिनप्रति दिन निरंकुश बन्दै गएकाले ओलीविरुद्ध एकताबद्ध हुन आह्वान गर्नु भएको छ । पार्टी फुटाउन सजिलो हुनेगरी र संवैधानिक निकायलाई पार्टीगत बनाउनेगरी दुई अध्यादेश ल्याएर ओली लोकतन्त्र समाप्त पार्ने तर्फ लागेको उहाँले आरोप लगाउनुभयो ।
यी अध्यादेशहरु कुनै पार्टीलाई मात्रै भत्काउनेभन्दा पनि व्यवस्था नै भत्काउने नियतका साथ ल्याइएको डा भट्टराईको ठम्याइए छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “मलाई खाने बाघले तँलाई पनि खान्छ भने झै जसलाई लक्षित गरेपनि त्यसले सवैलाई हानी गर्दछ ।” प्रधानमन्त्री ओलीको ध्यान कोरोनाबाट कसरी लड्ने र लकडाउनका कारण भोकभोकै भएकाहरुहरुप्रति भन्दा पनि कता रैछ भन्ने प्रष्ट भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “जनताले ल्याएको लोकतन्त्र ओलीले धरापमा पार्दै छन्,जंगबहादुरको पुनराबृत्ति हो, जनताले यसका विरुद्ध संघर्ष गर्नु पर्दछन्,ओलीका दिनगन्ती सुरु भए र हुनु पर्छ ।
उहाँले अहिलेको अवसर बाँदरको हातमा नरिबल जस्तो भएको टिप्पणी गर्दै पुरानो नेतृत्व असक्षम छ भन्ने थप पुष्टि भएको तर्क गर्नुभयो । पुर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रपतिले जति हल्का तरिकाले अध्यादेश जारी गर्नुभएको छ, त्यो झन चिन्ताको विषय भएको बताउनु भयो । नेपालीले धेरै शक्तिशाली व्यक्तिहरुलाई ढलाएकाले अव ओली नेतृत्वको निरंकुशता ढलाउनु पर्ने बेला आएको उहाँको भनाई थियो । उहाँले आफ्नो निरंकुशताका लागि संवैधानिक निकायहरुलाई हतियार बनाउने गरी संवैधानिक परिषद्मा प्रतिपक्ष नरहने व्यवस्था गरिएको दावी गर्नुभयो ।