लोकतन्त्र र संविधान मास्ने अध्यादेश :  लेखक

प्रकाशित मिति:

काठमाडौ । नेपाली काँग्रेसका नेता तथा कानुनविद् रमेश लेखकले सरकारले हिजो जारी गरेको दुवै अध्यादेश लोकतन्त्रको आधारभूत मान्यता र संविधानको मुल भावना प्रतिकुल रहेको टिप्पणी गर्नुभएको छ ।  राजनीतिक दल सजिलै फुटाउन सकिने व्यवस्थाले मुलुकलाई राजनीतिक अस्थीरताको दलदलमा फसाउने उहाँको भनाई छ ।
टुटफुटको राजनीति नहोस् भन्ने उद्धेश्यले सवै दलको चाहना अनुसार कानु्न बनाइएको कानुन विरुद्ध प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको उहाँको भनाई छ ।
आफ्नो पार्टीलाई हैन भन्ने प्रधानमन्त्रीको स्पष्टीकरणमा झन खराव नियत देखिएको नेता लेखकले नेपाली रेडियो नेटवर्कसाग बताउनुभयो ।

उहाँले भन्नुभयो, “कानुनमा स्थीरताको लागि यस्तो व्यवस्था गरिएको हो, तर स्थीरताको नारा दिएर बनेको सरकारले नै देशलाई अस्थीरता तर्फ लैजान ढोका खोलेको छ, यो दुर्भाग्यपूर्ण छ ।प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका पूर्व कानुनमन्त्री लेखकले संवैधानिक परिषद् प्रतिपक्षी विहिन गराउने अध्यादेश झनै खतरनाक भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । स्वतन्त्र र निश्पक्ष हुनुपर्ने राज्यका सवै निकायलाई आफ्नो मुठ्ठीमा राखेर निरंकुशताको बाटोमा जाने नियत संवैधानिक परिषद् सम्वन्धी अध्यादेशमा देखिएको लेखकको भनाई छ । नेता लेखकले दुवै अध्यादेशले लोकतन्त्र र संविधानलाई मास्न खोजेको आरोप लगाउनुभयो । उहाँले मन्त्रीपरिषद्मा मतभेद रहेको, दलहरुका बीचमा छलफल नै नभएको राजनीतिक विषयमा अध्यादेश जारी गर्दा राष्टपतिले एक पटक पनि सोँच विचार नगर्नु अर्को खतरनाक पक्ष भएको बताउनु भयो । राष्ट्रपति जस्तो अविभावक संस्था सरकारको लाचार छायाँ भएको नेता लेखकको टिप्पणी छ।