नागरिकको रोजगारी रक्षा गर्न आप्रवासी नागरिकमाथि प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

प्रकाशित मिति:

एजन्सी/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । कोरोना भाइरस कोभिड–१९ महामारीपछि देशले स्वास्थ्य तथा आर्थिक समस्याको सामना गरिरहेका बेला ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

सोमबार ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, ‘अदृश्य दुश्मनको आक्रमणका कारण असहज अवस्था सिर्जना भएको मध्यनजर गर्दै र हाम्रा महान नागरिकको जागिर बचाउनका लागि अमेरिकामा बाहिरका नागरिकको बसोबासमाथि रोक लगाउने अस्थायी कार्यकारी आदेशमाथि हस्ताक्षर गर्दैछु।’यद्यपि, उनले आप्रवासी रोक्नका लागि अमेरिकाले कति समयका लागि कस्तो कदम चाल्दै छ भन्नेबारे भने केही खुलाएका छैनन् । आप्रवासी कामदारमाथि लगाउन लागिएको आंशिक प्रतिबन्ध कस्ता–कस्ता मानिसहरू प्रभावित हुन्छन् भन्नेबारे पनि प्रष्ट पारिएको छैन ।

यतिबेला अमेरिका कोरोना भाइरसको महामारीका कारण आक्रान्त छ। लाखौं अमेरिकी नागरिक बेरोजगार भएका छन् भने अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ।अमेरिकामा मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ। त्यस्तै मंगलबार बिहानसम्म ७ लाख ८७ हजार ३ सय ७० जना संक्रमित भएका छन्। त्यस्तै ७२ हजार ७ सय ६१ निको भएका छन्।-न्युज २४ बाट