सरकार ! भारतीय सीमामा पर्खाल लगाउ : अभियन्ता बञ्जाडे

प्रकाशित मिति:

भरत प्रधान बुटवल, ९ बैशाख । सामाजिक अभियन्ता प्रख्यात बञ्जाडेले नेपाल भारत सीमामा पर्खाल लगाउनुपर्ने धारणा ब्यक्त गरेका छन् । कानुन ब्यबसायी समेत रहेका बञ्जाडेले भारत संगको खुला सीमाका कारण नेपालमा सुरक्षा चुनौती बढेको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत् नेपाल भारत सीमामा पर्खाल लगाउनुपर्ने धारणा ब्यक्त गरेका हुन् । भारतले नेपाली भूमि कालापानी मिचेको भन्दै सन् १९९८ मा सयुंक्त राष्ट्र संघका तत्कालीन महासचिव कोफी अन्नानलाई पत्राचार गरेर बञ्जाडेले सो बिषयमा जानकारी समेत गराएका थिए । सन् १९९९ जनवरी १३ मा सयुंक्त राष्ट्र संघले बञ्जाडेको पत्रको जवाफ पठाउंदै नेपाल सरकारले चाहेमा कुटनीटिक पहल गरेर भारतसंग वार्ता गर्न सक्ने उक्त पत्रमा उल्लेख गरेको छ । बञ्जाडेले यसअघि पनि पटक–पटक भारत तर्फको सीमामा पर्खाल लगाउनुपर्ने धारण ब्यक्त गर्दै आएका छन् । भारतसंगको खुला सिमानाकै कारण बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस, कोभिड १९ को उच्च जोखिम बढेको भन्दै भारत तर्फका सबै सिमाना पूर्ण रुपमा शिल गर्नुपर्ने बञ्जाडेको भनाई छ ।बिश्वका अन्य देशको तुलनामा नेपालमा कोरोना भाईरसको प्रभाव न्यून देखिएपनि भारतसंगको खुला सीमाका कारण यसको नियन्त्रण र रोकथाममा थप चुनौती देखा परेको बञ्जाडेको तर्क छ । अहिले पनि भारतबाट लुकिछिपी भारतीय नागरिकहरु नेपाल आउने क्रम रहेको भन्दै यसलाई कडाईका साथ रोक्नुपर्ने उनको भनाई छ । कोरोना महामारीको अन्त्य लगत्तै नेपाल सरकारले भारतसंग दुई पक्षिय वार्ता गरेर नेपाल भारत सीमामा पर्खाल लगाउन पहल गर्नुपर्ने बञ्जाडेको माग छ । सामाजिक सञ्जालमा बञ्जाडेले भनेका छन्– “खुला सिमा भएकै कारण दिनप्रतिदिन भारतले नेपाली भूमि मिच्दै आएको छ, आपराधिक गतिबिधी बढेको छ, खुलेयाम मानव तस्करी र बेचबिखन हुदै आएको छ । लागुऔषधको कारोबारले बढावा पाएको छ । अन्र्तराष्ट्रिय आतंककारीहरुको सहज प्रबेशले नेपाल आतंकारीहरुको कृडास्थल बन्ने खतरा बढेको छ । यसमा नेपाल सरकार गम्भीर हुन जरुरी छ । ”

बञ्जाडेले सामाजिक सञ्जाल बाटै सिमानामा पर्खाल लगाउन नेपाल सरकारको ध्यानार्षण गराउंंदै यस्तो महान् अभियानमा लाग्न सबै नेपाली नागरिकलाई आह्वान समेत गरेका छन् । नेपाल रहे हामी रहौंला, नेपाल नै नरहे हामी कहां रहौंला रु,” भन्ने चिन्ता ब्यक्त गर्दै बञ्जाडेले मातृभूमिको रक्षा गर्न सबै नेपालीलाई आग्रह समेत गरेका छन् ।
बञ्जाडेले रोष प्रकट गर्दै अगाडी भनेका छन्– “भारतले हजारौं हेक्टर नेपाली भूमि हडपेको छ, सिमानामा राखिएका जंगे पिलर उखेलिएका छन् । नेपाल आमाको अस्मिता लुटिएको छ ।” त्यसैले आउनुहोस्, – “ नेपली भूमिको रक्षा गरौं । भारतको ज्यादती बिरुद्ध जोडदार आवाज उठाऔं, जनस्तरबाटै सिमानामा पर्खाल ठड्याउ ।”भारतीय सुरक्षाकर्मीबाटै सिमामा रहेका नेपालीहरु असुरक्षित रहेको र लुटिनुपरेको समेत बञ्जाडेले उल्लेख गरेका छन् । अन्र्तराष्ट्रिय नितीनियम र कानुनलाई समेत उल्लंघन गरेर भारतीय सुरक्षाकर्मीहरु हातहतियार सहित नेपाली भूमिमा निर्बाध रुपमा प्रबेश गर्ने गरेका घटनाले पनि सिमामा रहेका नेपालीहरु असुरक्षित रहेको पुष्टि हुने उनको तर्क छ ।नेपालको पूर्व मेचिदेखि दक्षिण हुंदै पश्चिम महाकालीको दार्चुला सम्म लगभग १८ सय ८० किलोमिटर भारतीय सीमासंग खुला रहेको छ । जहां साना ठूला गरेर आठ हजार बढी सीमा स्तम्भ रहेका छन् । ती मध्ये सात सय १० वटा सीमा स्तम्भ नभेटिएको सीमाविद्हरुले बताएका छन् । भारतले ६० हजार हेक्टर बढी नेपाली भूमि अतिक्रमण गरेको उल्लेख छ ।

सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बलले सुरक्षालाई ध्यानमा राखेर भारतीय सिमावर्ती क्षेत्रमा हाल स्थायी र अस्थायी गरेर एक हजार बढी सिमा निगरानी सुरक्षा पोष्ट खडा गरेको जनाएको छ । जहा सशस्त्र प्रहरी बलका २२ हजार बढी सुरक्षाकर्मी तैनाथ छन् ।भूमि अतिक्रमण, खुला सीमा र सीमा सुरक्षाका बिषयमा भारतसंग कुटनीटिक पहल गरेर समाधान गर्नुपर्ने र नेपाल–भारत बिच भएको सन् १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने बञ्जाडेको तर्क छ ।भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, लिम्पीयाधुरा लगायत सीमा बिवादका बिषयमा केही महिना अघि परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल संग छुट्टाछुट्टै भेट गरेर छलफल समेत गरेको बञ्जाडेले बताएका छन् । भेटका क्रममा परराष्ट्रमन्त्री ज्ञवाली र मूख्यमन्त्री पोख्रेलले चासो ब्यक्त गर्दै आफूहरुको गम्भीर ध्यानार्षण भएको र भारतसंगको सीमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने प्रतिक्रिया दिएको बञ्जाडेले बताए । खुला सीमा भएकै कारण भारतले खुलेयाम नेपाली भूमि मिच्दै आएकाले नेपालीको सुरक्षा र नेपाली भूमिको रक्षाका लागि आफूले अभियानकै रुपमा नेपाल भारत सीमामा पर्खाल लगाउनुपर्ने धारणा राख्दै आएको बञ्जाडेले प्रतिक्रिया दिए । नेपाली भूमि लिम्पियाधुरालाई समेत आफ्नो नक्सामा समावेश गरेर भारतले नयां नक्शा जारी गरेपछि नेपालमा भारत बिरुद्ध कडा बिरोध समेत भएको थियो ।