गल्याङ नगर अस्पतालको घटना छानविन गर्न समिति गठन, अस्पताल व्यवस्थापकको जिम्मा न्यौपानेलाई

प्रकाशित मिति:

गल्याङ /स्याङ्जाको गल्याङ नगरपालिका ३ मा रहेको गल्याङ नगर अस्पतालको विषयमा छानविन गर्न समिति गठन गरिएको छ ।
गल्याङ नगरपालिका कार्यपालिकाको विहीबार बसेको बैठकले छानविन समिति गठन गरेको हो । उपमेयर देवीसरा थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा नगरप्रबक्ता तथा वडा नम्बर एकका अध्यक्ष गणेश बस्याल, वडा नम्बर दुईका अध्यक्ष इवप्रसाद कर्माचार्य, वडा नम्बर सातका अध्यक्ष रामविर गुरुङ, वडा नम्बर दशका अध्यक्ष ध्रुब शर्मा पङ्गेनी र सामाजिक शाखा प्रमुख थानापति न्यौपाने रहनुभएको छ ।

समितिलाई अस्पतालमा उत्पन्न परिस्थितिको बारे अध्ययन गरी उचित सुझाब सहित राय पेश गर्ने जिम्मा दिइएको छ । यस्तै बैठकले अस्पताल व्यवस्थापकको जिम्मा गल्याङ नगरपालिका सामाजिक शाखा प्रमुख थानापति न्यौपानेलाई दिने निर्णय पनि गरेको छ । बैठकले गल्याङ नगरपालिका भित्र स्थायी घर भई आउन चाहनेहरुलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गर्दै यसको समन्वय वडाले गर्ने तय गरेको छ ।

क्वारेन्टाइनमा बस्नेहरुलाई खाना खर्च वापत दैनिक एक सय ५० रुपैयाँ दिने निर्णय गरेको नगरप्रबक्ता गणेश बस्यालले जानकारी दिनुभयो । यस्तै, नगरपालिका भित्र तरकारी विक्रीको कामलाई प्रभावकारी रुपमा काम अगाडि बढाउने निर्णय पनि भएको छ । यसैगरी बैठकले नगरपालिका भित्र बैदेशिक रोजगारीमा जानेहरुको तथ्याङ्क संकलन गर्ने निर्णय पनि भएको छ । यसैवीच, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विज्ञप्ति निकालेर गल्याङ नगर अस्पतालको विषयमा सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आएको समाचारको विषयमा गल्याङ नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विरुद्व विभिन्न तरिकाले सामना गरिरहेको सन्दर्भमा आकस्मिक रुपमा आएको यो घटनाले आफु आश्चर्यचकित समेत भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ –‘आन्दोलनको कुनै प्रक्रिया र योजना भन्दा बाहिर गई नगरपालिका वा अस्पताल व्यवस्थापन समितिलाई लिखित तथा मौखिक रुपमा कुनै जानकारी समेत नदिई एकाएक अस्पताल बन्द भएको खबर बाहिरबाट आउनु आफैमा शंकास्पद छ ।’ विषम परिस्थितिमा जुनसुकै बहानामा भए पनि यस्तो खालको घटना हुनु गैरजिम्मेवारीपनको पराकाष्टा भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ –‘यसमा कर्मचारी मात्रैको भन्दा पनि धमिलो पानीमा माछा मार्न खोज्ने केही असामाजिक व्यक्ति तथा उछृङ्खल समूहको हात रहेको भन्नेमा कुनै शंका छैन ।’विज्ञप्तिमा अस्पताल निर्वाध रुपमा सञ्चालन भैरहेको भन्दै आम जनसमुदायमा आवश्यक सेवा सुविधा लिन तथा कोरोना संक्रमणको साबधानीमा उत्तिकै सचेत रहन नगरबासीमा अपिल गरिएको छ ।