गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा सहयोग आउने क्रम बढ्दो

११ बैशाख २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा सहयोग आउने क्रम बढेको छ । नगरपालिकाको राहत कोशमा विभिन्न संस्था तथा व्यक्तिबाट राहत आउने क्रम बढेको हो ।विहीबार नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगरपालिका वडा नम्बर आठ वडा कमिटिले ३१ हजार एक सय १५ रुपैयाँ सहयोग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वडा कमिटि अध्यक्ष दिपक अधिकारीले नगरप्रमुख भुपराज अधिकारीलाई रकम हस्तान्तरण गर्नुभएको हो । यस्तै विहीबार नै श्री सिद्व दुग्ध सहकारी संस्था लिमिटेडले पनि दश हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । संस्थाका अध्यक्ष दिपक अधिकारीले नै यो रकमको चेक नगरप्रमुख अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले सम्पूर्ण सहयोग रकमको उचित सदुपयोग गरिने प्रतिबद्वता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –‘तपाईहरुले यसरी दिएको सहयोग हामीलाई निकै भारी हुने गरेको छ । यसको सही सदुपयोग गरेर पारदर्शी रुपमा हिसाब सार्बजनिक गर्नेछौं ।’नगरप्रमुख अधिकारीले गल्याङ नगरपालिकामा उत्पादित तरकारीको व्यवस्थापनका लागि भूमिका खेल्न पनि व्यवसायी उद्यमी कृषि सहकारी संस्थलाई आग्रह गर्नुभयो ।उहाँले किसानले उत्पादन गरेका सम्पूर्ण उत्पादनहरु बजारमा पठाउन आफु प्रतिबद्व रहेको भन्दै यसका लागि सहयोग गर्न अपिल गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्दै नेकपा वडा कमिटि अध्यक्ष तथा सिद्व दुग्ध सहकारी संस्थाका अध्यक्ष दिपक अधिकारीले विपदको समयमा सहकार्य गर्न खोजेको बताउनुभयो । यसैवीच, लक्ष्मी बैंक शाखा कार्यालय गल्याङको तर्फबाट आजै गल्याङ नगरपालिकाका लागि असी वटा सेनिटाइजर र दश पाकेट माक्स हस्तान्तरण गरिएको छ । शाखा प्रबन्धक मणीप्रसाद बस्यालले नगरप्रमुख भुपराज अधिकारीलाई यो सहयोग हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख अधिकारीले विपदको बेलामा सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा बैंकसँग सहकार्य गर्न आफु प्रतिबद्व रहेको बताउनुभयो । शाखा प्रमुख बस्यालले लक्ष्मी बैंकले सातै वटा प्रदेशमा दश लाखका दरले र संघीय सरकारलाई ३० लाख गरी एक करोड रुपैयाँ सहयोग गरेको जानकारी दिदै शाखाको तर्फबाट यो सहयोग गरिएको स्पष्ट पार्नुभयो । उहाँले २० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरिएको जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया