फोटो प्रदर्शनी मेलाको मुख्य आकर्षण

प्रकाशित मिति:

माधव ज्ञवाली
सैनामैना – १०, कार्तिक
देश निर्माणमा व्यापारको आवश्यकता, व्यवासायिक हितसँगै सामाजिक एकता भन्ने मूल नाराका साथ सैनामैना व्यापार संघको आयोजना रहेको तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाले नगरको पहिचान बोकेको फोटो प्रदर्शनी मुख्य आकर्षक बन्न पुगेको छ ।
सैनामैनाको पहिचान बोकेको रानी कुवा, बोलबम धाम मन्दिर, मलमला मन्दिर लगायत सैनामैनामा रहेका ऐतिहासिक, पुरातात्तिवक, धार्मिक, शैक्षिक क्षेत्रको पहिचान बोकेका स्थलहरुका फोटो प्रदर्शनीमा राखिएको छ । अन्तराष्ट्रिय विमानस्थल भैरहवा, लुम्विनी, तिलौराकोट हुँदै सैनामैनाको ऐतिहासिक स्थलको अवलोकन गरी देवदह जाने सकिने पर्यटक हवका रुपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले फोटो प्रर्दशनीलाई प्राथमिकता दिएको व्यापार संघका महासचिव देवराज पौडेलले जानकारी दिनु भयो ।
त्यसै गरी मेलामा अष्ट्रिज चराको अवलोकन, दुग्द्यजन्य पदार्थबाट निर्मित परिकारको स्वाद चाख्न पाइने, उन्नत जातका कृषि विउबेर्नाहरु सुपथ मुल्यमा पाउने सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मेलाले कृषिजन्य उत्पादनलाई प्राथमिकता दिएको छ । स्थानीय उत्पादन तथा कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथमा मेलाले महत्व दिएको छ ।
मेलामा स्थानिय स्तरमा रहेका प्रतिभाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले दोहोरी गित प्रतियोगिताको आयोजना गरिएको छ । नगरका ११ वटै वडा सहभागी रहने दोहोरी गीत प्रतियोगितामा आइतबार वडा नं २ र ३ का बिचमा दोहोरी गित प्रतियोगितको घम्साघम्सी हुने अतिरिक्त सांस्कृतिक संयोजक पिताम्वर न्यौपने (धर्म) ले जानकारी दिनुभयो । एउटा टिममा ३ जना सहभागी हुनेछन् ।
शनिवार राष्ट्रिय कलाकार प्रजापति पराजुली, सम्झना भण्डारी, सौगात सायर, विधान कार्कीले दर्शकलाई सांगितिक मनोरञ्जन प्रदान गरेका थिए । साथमा डान्सिङ आईडल अन्तर्गत टप १७ ले आफ्नो प्रस्तुति दिएका थिए भने उल्लेख्य दर्शकहरुले मेलाको अवलोकन गरेका थिए । त्यसै गरी आइतवारका प्रस्तुतिहरुमा वडा स्तरीय लोक दोहोरी प्रतियोगिता, डान्सिङ आइडलका साथमा राष्ट्रिय कलाकार रमेशराज भट्टराई, प्रिया भण्डारी, नन्दु परियारहरुका साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने प्रचारप्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी दिनुभयो ।