कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

प्रकाशित मिति:

काठमाडौं/कोरोना भाइरस संक्रमणका कारण विश्वभर २ लाख मानिसको मृत्यु भएको छ ।अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या दुई लाख दुई हजार चार सय ५५ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या भने २८ लाख ९२ हजार पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९ लाख ३६ हजार रहेको छ ।चीनको सरकारी सञ्चार माध्यमका अनुसार कोरोना भाइरसका कारण पहिलो पटक ११ जनवरीमा मानिसको मृत्यु भएको थियो । त्यसपछि अहिलेसम्म यो भाइरस दुई सय १० देशमा फैलिएको छ ।अमेरिकासहित पाँचवटा देशमा मृतक संख्या २० हजार भन्दा माथि छ । जसमा इटलीमा २६ हजार ३ सय ८४, स्पेनमा २२ हजार ९ सय २, फ्रान्समा २२ हजार ६ सय १४ र बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ ।

बेलायती गृहमन्त्री प्रिती पटेलले मृतकको यो संख्या दुखदायी भएको बताएकी छन् । तर बेलायतमा मृतक संख्यामा घरमा र नर्सिङ होममा मृत्यु हुनेको संख्या जोडिएको छैन । त्यसैले मृतक संख्या अझ बढी हुने अनुमान गरिएको छ ।फ्रान्समा मृतकको कुल संख्यामा केयर होममा मृत्यु हुनेको संख्या पनि जोडिएको छ । त्यहाँ मृतक संख्या अघिल्लो दिनको तुलनामा शनिबार ३ सय ६९ जनाले बढेको छ ।अहिलेसम्म विश्वभर २८ लाख ६८ हजार पाँच सय ३९ जना संक्रमित फेला परिसकेका छन् । सबैभन्दा बढी अमेरिकामा नौ लाख २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।विश्वभर अहिलेसम्म आठ लाख ११ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।अनलाईन खबर