किम जोन जीवित रहेको अमेरिका र दक्षिण कोरियाली गुप्तचरको निष्कर्ष

प्रकाशित मिति:

१४ वैशाख, काठमाडौं । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित रहेको उल्लेख गरेको हो । अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८–नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको रेल रोकिएको स्याटेलाइटको फोटो सार्वजनिक गरेको छ । गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाको गुप्तचर अधिकारीले पनि बताएको समाचारमा उल्लेख छ ।

गत अप्रिल १५ मा किम जोन उन आफ्ना हजुरबाको जन्म जयन्तीमा सहभागी हुन नसकेसँगै उनको स्वास्थ्य अवस्थाको विषयमा अड्कलबाजी शुरु भएको थियो । शनिबार पनि उनी सेनाको स्थापना दिवसको अवसरमा पनि देखिएनन् । त्यससँगै उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको हो । कुनै असामान्य सैन्य गतिविधि नदेखिएकाले उनको स्वास्थ्य अवस्थामा धेरैले चासो राखेका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले अन्तिमपटक अप्रिल ११ मा भएको एक बैठकमा सामेल भएको उल्लेख गरेका थिए । त्यसयता उनको बारेमा उत्तर कोरियाबाट कुनै समाचार आएको छैन ।३८ नर्थ का अनुसार अप्रिल २१ र २३ मा वोन्सानमा किमको रेल देखिएको थियो । यद्यपि रेलको उपस्थितिले उनी त्यो रेलमा रहेको वा नरहेको तथा उनको स्वास्थ्य अवस्थाबारे थाहा नहुने बताइएको थियो ।