लघुकथा : कोरोना कहर

प्रकाशित मिति:

हरिप्रसाद भण्डारी – “ऊ हाम्रा बाउ, देखिस् ?” ध्रुबेले भन्यो । प्याउलीले आँखाको दृष्टि डोल्याएर पारितिर हेरी ।
नदीको बगरमा अनगिन्ती मान्छे थिए । त्यो भीडमा उसले
आफ्नो बाउलाई ठम्याउन सकिन । “ऊ क्या त कालो भोटो लगाएर उभिएका ।”
“देखेँ देखेँ !”
बालाई देखेपछि प्याउली भक्कानिई अनि रुँदै बोलाई, “ए
बाउ ! हामी तिम्लाई लिन आका हौँ । आमाले मकै भुटेर
पठाकी छिन् । छिटो आऊ, सँगै बसेर खाम्ला ।”
महाकाली नदी आफ्नै गतिमा बगिरहेको थियो । नदीको
आवाजले वारीको कुरा पारी सजिलै बुझिदैनथ्यो ।
बैनी रुँदै थिई, ध्रुबे चिच्यायो, “ए बाउ, अलि ओर आउ त ।”
त्यसपछि ऊ बैनीलाई लिएर किनारमै पुग्यो । प्याउली
पानीतिर कुँद्दै थिई, उसले भन्यो, “पर नजा खोलाले बगाउँच
।”
ध्रुबेको आवाज छविलालले सुनेछ क्यारे, ऊ पनि खोला
किनारमै आयो ।
“बाउ वारी आउ छिटै ।” रुँदै प्याउलीले भनी ।
छोराछोरीलाई देखेपछि छविलालका आँखा साउनको
झरीजस्तै वर्षन थाले । भोक, प्यास र निद्राले शरीर
ओइलाएको थियो । तैपनि ठूलो शक्ति बटुलेर भन्यो, “त्यता आउन दिन्नन् । पुलमा काँडा लाछन् । खोलो तर्न सक्दिनँ ।
कसरी आउनु !”
“कैले आउछौ त ?” “खै ? यो कोरोना नसकिएसम्म आउन मिल्लाजस्तो छैन ।

त्यतिबेलासम्म मरिने पो हो कि ! तिमोरको मुख हेर्ने ठूलो
धोको थियो ।”
त्यसपछि तीनैजना रोए । केही समयपछि छविलालले भन्यो, “अलिअलि ल्याएका पैसा यतै सकिए । रित्तो हात घर गयो भने साहुले हाडछाला छुट्याउन खोज्छ । त्यसैले यतैबाट काला पहाड फर्कुँकी भन्ने विचार गर्दैछु । के गरुँ भन त ?”
“अब नजाऊ बा काला पाहाड । मरे पनि सँगै मरौँला । दश नङ्ग्रा खियाए यतै पनि दुई छाक खान सकिन्च । म पनि सघाउँला ।” ध्रुबेले भन्यो ।

छोराको कुरा सुनेपछि छविलालको छाती भक्कानियो ।
उसले आफूलाई सम्हाल्न सकेन । ठूलो शाहस बटुलेर एक्कासि नदीमा हाम फाल्यो ।