विश्वभर दुई लाख ११ हजार भन्दा बढीको मृत्यु, संक्रमितको संख्या ३० लाख

प्रकाशित मिति:

जेनेभा, वैशाख १६ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दुई लाख ११ हजारभन्दा बढी मानिसको मृत्यु भएको छन्। ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। नेपाली समयअनुसार मंगलबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले जनाएको छ। अमेरिकामा संक्रमितको कूल संख्या १० लाख नाघे पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३८४ जनाको मृत्यु भएको छ योसहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २४ हजारको हाराहारीमा पुगेको छ।

युरोपेली मुलुकहरुमा समेत गएको २४ घण्टामा दुई हजारको हाराहारीमा मात्र कोरोनाका बिरामीको मृत्यु भएको र संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको देखिएको भन्दै लकडाउनमा केही खुकुलो पारिएको र कतिपय मुलुकमा विद्यालयहरु खोल्न थालिएको छ। कोरोनाभाइरस सम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २४ हजार ६३७ जना उपचारपछि घर फर्किएका छन्। अझै पनि ५६ हजार २९१ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब १८ लाख ८० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९७७ जना, स्पेनमा २३ हजार ५२१ जना, फ्रान्समा २३ हजार २९३, बेलायतमा २१ हजार ९२ जना, बेल्जियममा ७ हजार २०७ जना, जर्मनीमा ६ हजार १२६ जना, नेदरल्यान्ड्समा ४ हजार ५१८ जना, स्वीडेनमा २ हजार २७४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६५ जना, आयरल्यान्डमा १ हजार १०२, पोर्चुगलमा ९२८ जना तथा रसियामा ८६७ जनाको मृत्यु भएको छ। यसैगरी, इरानमा ५ हजार ८०६ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार ६०३ जना, टर्कीमा २ हजार ९०० जना, क्यानाडामा २ हजार ७०७ जना, मेक्सिकोमा १ हजार ४३४ जना, भारतमा ९३९, इन्डोनेसियामा ७६५ जना, इक्वेडरमा ६६३ जनाको मृत्यु भएको छ।