सहयोग रोक्ने ट्रम्पको निर्णयमाथि जाँच हुने

प्रकाशित मिति:

अमेरिकाको द हाउस अफ रिप्रिजेन्टिभ्सको विदेश मामिला समितिले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिने रकममा लगाएको रोकका सम्बन्धमा जाँच सुरू गरेको छ। समितिका अध्यक्ष डेमोक्रेटिक प्रतिनिधि इलियट एङ्गलले संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सी अपूर्णु भएको र यसमा गरिने सुधारको समर्थन गर्ने बताएका छन्। सारा विश्व कोभिड  १९ सँग लडिरहेको अवस्था डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्नु निश्चित रुपमा कुनै उत्तर होइन विदेशमन्त्री माइक पोम्पेलाई लेखेको पत्रमा उनले भनेका छन्। एङ्गलले पत्रमा सरकारसँग कोष रोक्ने निर्णयसँग सम्बन्धित ११ प्रकारका कागजात वा जानकारी मागेका छन्। उनले पत्रमा ती कागजात ढिलोमा मे ४ को ५ बजेसम्म उपलब्ध गराउनुपर्ने बताएका छन्। एङ्गलले भनेको समयभित्र कागजपत्रहरू उपलब्ध नगराइए सरकारले गरेका निर्णयहरू रोक्न उपलब्ध हरसम्भव उपायहरू अपनाउने चेतावनी दिएका छन्। एक जना प्रवक्ताले यसका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन्। कमिटी अध्यक्षका रुपमा एङ्गललाई संघीय निकायलाई आदेश दिन सक्ने अधिकार छ।

सरकारले भने समितिको यो मागका बारेमा तत्कालै कुनै प्रतिक्रिया दिएको छैन। चीनको पक्षपोषण गरेको र कोरोनाको महामारी व्यवस्थापनमा चुकेको भन्दै ट्रम्प प्रशासनले अप्रिल १४ मा डब्लुएचओलाई दिँदै आएको आर्थिक सहायता रोक्ने निर्णय गरेको थियो।उसले विश्व स्वास्थ्य संगठनका कामका बारेमा समीक्षा गर्ने र उस्तै परे सोही प्रकृतिको अर्को संस्था खोल्ने चेतावनी पनि दिएको छ।डब्लुएचओले भने अमेरिकाको आरोपलाई अस्वीकार गर्दै आएको छ।उसले महामारीको चेतावनी दिँदा संसारसँग सोसँग लड्नका लागि पर्याप्त समय रहेको दाबी गरेको छ। अमेरिकाले विश्व स्वास्थ्य संगठनको १५ प्रतिशत बजेट बराबरको आर्थिक सहायता उपलब्ध गराउने गरेको थियो।ट्रम्पको सहयोग रोक्ने कदमको देशभित्र र बाहिर विरोध हुँदै आएको छ।अमेरिकाका डेमोक्रेटिक सांसदहरूले ट्रम्पले भाइरस नियन्त्रणमा आफूले देखाएको ढिलासुस्तीलाई लुकाउन डब्लुएचओ र चीनलाई ‘बलिको बोको’ बनाएको आरोप लगाएका छन्।यस्तै रिपब्लिक सासंदहरूले भने ट्रम्पलाई व्यापकरुपमा समर्थन गर्दै आइरहेका छन्। उनीहरूले ट्रम्पको प्रशंसा गर्दै विश्व स्वास्थ्य संगठन प्रमुखले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।