वालिङमा १७१ यूनिट रगत संकलन

१७ बैशाख २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


तोलाकान्त बगाले / वालिङ, १७ वैशाख  – वालिङमा आज एकसय ७१ यूनिट रगत संकलन भएको छ । लकडाउनका बेला रगत अभाव हुन नदिनका लागि वालिङस्थित रेडक्रस सोसाईटीका उपशाखा तथा विभिन्न संघ संस्थाहरुको संयुक्त पहलमा आयोजना गरिएको रक्तदान शिविरमा एकसय ७१ यूनिट रगत संकलन भएको हो ।रक्तदान शिविरमा एकसय ५१ पुरुष र २० महिला गरी कूल एकसय ७१ जनाबाट एकसय ७१ यूनिट रगत संकलन गरिएको हो ।लकडाउनका समयमा अत्यावश्यकीय रगतको अभाव हुन नदिई यसको सही ब्यवस्थापनका लागि रक्तदान शिविर सञ्चालन गरेकोमा आयोजकहरुलाई नगर प्रमुख दिलिपप्रताप खाँणले धन्यवाद ज्ञापन गर्नुभयो ।लकडाउनका कारण रक्तदान हुन नसकिरहेको अवस्थामा रगतको अभाव भएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सामाजिक

दूरी कायम राख्दै रक्तदान गर्न नगर प्रमुख खाँणले सुझाव दिनुभएको थियो ।विगतका समयहरुमा वालिङमा विभिन्न संघ संस्थाहरुद्वारा रक्तदान शिविर सञ्चालन हुँदा भन्दा यसपटक धेरै यूनिट रगत संकलन भएको शिविर संयोजक रेडक्रस सोसाईटी पेखु बाघखोर शाखाका सभापति विष्णुप्रताप खाँणले बताउनुभयो ।रक्तदान शिविरमा नेपाल रेडक्रस सोसाईटी, कास्की क्षेत्रीय रक्त सञ्चार सेवा, पोखराका प्राविधिकहरुले ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर रगत संकलन गरेका थिए ।रक्तदान स्थलमा सामाजिक दूरी कायम गर्नेसहितका अन्य सुरक्षाका उपायहरु अपनाएर रगत संकलन गरिएको रक्त सञ्चार सेवा पोखराका प्राविधिक महेन्द्र केसीले बताउनुभयो ।रगत लिने र दिने दुबै जनाको स्वास्थ्यका विषयमा विशेष सुरक्षा सतर्कता अपनाईएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया