पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न संदिग्धविरुद्ध मुद्दा चलाइने

प्रकाशित मिति:

रियाद (बिबिसी) – पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न संदिग्धविरुद्ध मुद्दा चलाइने साउदी अरबका विदेशमन्त्री अदेल अल–जुबेरले बताएका छन्। बहराइनमा आयोजित एउटा सम्मलेनमा विदेशमन्त्री जुबेरले संदिग्धमाथि मुद्दा चलाइने बताएका हुन् । उनले खसोग्गीको हत्याका विषयमा पश्चिमा सञ्चारमाध्यमले उत्तेजना फैलाएको आरोपसमेत लगाए । टर्कीले जमाल खसोग्गी हत्यामा संलग्न भएको बताउँदै १८ जना साउदी नागरिकलाई सुपुदुर्गी गर्ने इच्छा प्रकट गरेको एक दिनपछि उनको यस्तो भनाइ आएको बिबिसीले उल्लेख गरेको छ । कुनै समय साउदी राजपरिवारका अत्यन्तै विश्वासपात्र रहेका पत्रकार जमाल खसोग्गी पछिल्लो समय कटु आलोचक बनेका थिए। वासिङ्टन पोस्टका स्तम्भकार खसोग्गीको पूर्वपत्नीसँग भएको सम्बन्धविच्छेदको प्रमाणित कागजात बनाउन टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएकै बेला तीन साताअघि हत्या भएको थियो । खसोग्गीकी प्रेमिकाले उनी बेपत्ता भएको सार्वजनिक गरेकी थिइन् । खसोग्गी बेपत्ता भएको विषय बाहिरिएपछि टर्कीले उनको साउदीको वाणिज्य दूतावासमै हत्या भएको र त्यसको आफूसँग प्रमाण रहेको बताएको थियो । टर्कीलगायतका देशले खसोग्गीको हत्यामा साउदी सरकारकै संलग्नता रहेको बताए पनि सुरुमा रियादले सो आरोप अस्वीकार गरेको थियो । पछि, उसले खसोग्गीको वाणिज्य दूतावासभित्र भएको झगडाका क्रममा मृत्यु भएको र त्यसमा आफ्ना खराब एजेन्टहरु दोषी रहेको आरोप लगाएको थियो।

यद्यपि उसले विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यममा भनिए जस्तो साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानको आदेशमा खसोग्गीको हत्या भएको भन्ने विवरणलाई भने अस्वीकार गर्दै आइरहेको छ । सुरुमा साउदीले पत्रकार खसोग्गीको हत्याबारे केही पनि बताउन चाहेको थिएन तर अहिलेसाउदीका सार्वजनिक अभियोजनकर्ताले खसोग्गी हत्या पूर्वनियोजित भएको स्वीकार गरिसकेका छन् । खसोग्गीलाई साउदीका शक्तिशाली युवराज मोहम्मद बिन सलमानका कडा आलोचकका रूपमा समेत लिइन्थ्यो। टर्कीले भनेजस्तो सुपुदुर्गीको मुद्दाका बारे कुरा गर्ने हो भने ती सबै साउदीका नागरिक हुन् । उनीहरुलाई साउदीमै पक्राउ गरिएको हो । अनुसन्धान पनि साउदी अरबमै हुन्छ र अब मुद्दा पनि साउदी अरबमै चल्छ,’ टर्कीले गरेको सुपुदुर्गीसम्बन्धी मागमा प्रतिक्रिया जनाउँदै विदेशमन्त्री जुबिरले बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा बताए । टर्की र साउदी अरबबीच सुपुदुर्गी सन्धि भएको छैन। त्यसकारण जमाल खसोग्गी हत्यामा संलग्न संदिग्धलाई टर्की सुपुदुर्गी गर्न साउदीलाई बाध्यता छैन।

यसैबीच अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पत्रकार खसोग्गीको कूटनीतिक आवरणमा भएको हत्याको विषय विश्वभरका लागि सरोकारको विषय हुनुपर्ने बताएका छन्। हिंसाका माध्यमबाट खसोग्गीजस्ता पत्रकारलाई चुप बनाउने क्रुर कदम संयुक्त राज्य अमेरिकाले कुनै पनि दिन सहन नसक्ने पनि रक्षामन्त्री म्याटिसले बताएका छन्। अन्तर्राष्ट्रिय मूल्य र विधिको शासनमा रहन नसक्ने कुनै पनि राष्ट्रका कारण आवश्यक परेका बेला क्षेत्रीय स्थायित्वलाई अवमूल्यन गरिरहेको छ,’ मन्त्री म्याटिसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उता, खसोग्गीकी प्रेमिका हातिस केनिजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा गरेको निमन्त्रणालाई अस्वीकार गरेकी छन् । उनले खसोग्गी हत्याको विषयमा राष्ट्रपति ट्रम्प इमान्दार नबनेको आरोप लगाउँदै ह्वाइट हाउस जान इन्कार गरेको बिबिसीले जनाएको छ । टर्कीको एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफूलाई ह्वाइट हाउसमा निमन्त्रणा गरेर ट्रम्पले अमेरिकी नागरिकको विचारलाई प्रभावित पार्न खोजेको आरोप पनि लगाएकी छन्।