मन्त्री परिषद्को आजको बैठक : के के भए निर्णय ?

प्रकाशित मिति:

कार्तिक, ११ काठमाण्डौ / आज बसेको मन्त्री परिषद्को बैठकको निर्णयले राष्ट्रपति विद्या भण्डारीको भोलिबाट हुन लागेको ४ दिने कतार भ्रमण स्वीकृत गरेको छ।

साथै, सरकारले मलेसियासँग श्रम सम्झौता गर्ने निर्णय पनि गरेको छ। बैठकले श्रम सम्झौताको एमओयु पनि स्वीकृत गरेको छ। सम्झौता भएपछि हाल प्रतिबन्धित मलेसियामा नेपाली कामदार जान पाउने भएका छन्।

यस्तै, मन्त्रीपरिषद् बैठकले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ।

पछिल्लो समय सरकार र महाप्रबन्धकबीच विवाद चर्किंदै गएको थियो। सर्वोच्च अदालतमा मुद्दा चलिरहेका विषयमा सरकारले स्पष्टीकरण सोधेपछि उनले अदालतको अवहेलना भएको भन्दै मुद्दा दर्ता गरेका थिए।
त्यस्तै, बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गरिने निर्णय गरेको छ । अब सबै सरकारी निकायमा यही निर्देशिकाअनुसार विद्युतीय पत्राचार हुने सञ्चारमन्त्री तथा सरकारका प्रवत्ता गोकूल बास्कोटाले जानकारी दिए ।