बुद्धजयन्ति र चण्डेश्वरी जात्रामा पूजा मात्रै गरिने

प्रकाशित मिति:

काठमाडौं, वैशाख २२ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि गरिएको लकडाउनका कारण यस वर्षको बुद्धजयन्ति र चण्डेश्वरीको जात्रामा पूजा मात्र गरिने भएको छ। भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले सामान्य प्रक्रियामै पूजा गरिने बताए। ‘लाखौं व्यक्तिको मृत्य र संक्रमित बनिरहेको समयमा धेरै मानिस जम्मा हुनेगरी कुनै पनि जात्रा सञ्चालन नगर्ने हुँदा वैशाख २५ गते पर्ने बुद्धजयन्ति र वैशाख २४ र २५ गते पर्ने चण्डेश्वरीको जात्रालाई सामान्य विधि प्रक्रियामै सीमित गर्ने निर्णय गरेका छौं।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै भक्तपुर नगरपालिकाले भक्तपुरका ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका जात्राहरुलाई औपचारिकतामै सीमित गरिरहेको उनले बताए। आइतबार बसेको बैठकमा उपस्थित जात्रासँग सम्बन्धित सरोकारवालाहरुले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै जात्रालाई सामान्य पूजाआजा र सामान्य विधि प्रक्रियामै सीमित गर्ने र अनावश्यक भीड जम्मा हुन नदिन जात्राका नाइकेहरु मात्र बसेर जात्रा सञ्चालन गर्ने तय गरेका हुन्।