विपक्षी दलका नेता कनौडियाको माग – कोरोना परीक्षणको दायरा बढाऊ

प्रकाशित मिति:

बुटवल,२३ बैसाख । प्रदेश ५को प्रदेश सभाका प्रमुख विपक्षी दलका कार्यवाहक नेता विरेन्द्र कनौडियाले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउन मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसंग माग गरेका छन् । नेता कनौडियाले मुख्यमन्त्री शंकर पोखरेल र सामाजिक विकास मन्त्री सुदर्शन बराललाई छुट्टाछुट्टै टेलिफोन सम्पर्क गरी बांकेमा कोरोना संक्रमितको संख्या धमाधम बढेकाले परीक्षणको दायरा बढाउन माग गरेका हुन् । नेता कनौडियाले प्रयोगशालाहरुमा कोरोना परीक्षण गर्ने किटको अभाव हुन नदिन पर्याप्त मात्रामा किट उपलब्ध गराउन,भारतीय सिमा क्षेत्रमा कडाई गरी कसैलाई पनि नेपाल प्रवेश गर्न नदिन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै कोरोना परीक्षण गर्दा कुनै जाति र समुदायलाई मात्रै लक्षित गर्दा सामाजिक सद्भाव खल्बलिन सक्ने भएकाले त्यस्तो हुन नदिन सरकार सजग हुनुपर्ने पनि नेता कनौडियाले सरकारलाई सुझाव दिएका छन् । मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसंगको कुराकानीमा नेता कनौडियाले कोरोना संक्रमण रोकथामका लागि प्रमुख विपक्षी दल कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको जानकारी गराएका छन् । कोरोना महामारीको विश्वव्यापी असरका कारण बेरोजगारी बढ्ने र भोकमरीको अवस्था समेत आउन सक्ने खतरा भएकाले यी विषयलाई मध्यनजर गरेर नीति कार्यक्रम र वजेट बनाउन पनि आफूले सुझाव दिएको नेता कनौडियाले बताए । संक्रमण नफैलिने गरी लकडाउनलाई खुकुलो बनाउनेतर्फ योजना बनाउन पनि नेता कनौडियाले सरकारलाई सुझाव दिएका छन् । आफूसंगको कुराकानीमा मन्त्री बरालले बांकेमा मात्रै तीन सय जनाको स्याम्पल संकलन गरी परीक्षण गर्न लागिएको जानकारी गराएको नेता कनौडियाले बताए ।