सैनामैना औद्योगिक मेलामा कृषिलाई प्रोत्साहन , अष्ट्रिज चराको प्रर्दशन

प्रकाशित मिति:

विष्णु खत्री,कार्तिक ११ सैनामैना
कृषि क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रुपमा अंगिकार गर्दै कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरण गर्नका लागि विभिन्न सरोकारवाला निकायहरु लागि परेका छन् । साथै कृषिको आधुनिकीकरण लागि अहिले लाग्ने गरेका मेला महोत्सवमा समेत कृषिको छुट्टै स्टल बनाई कृषिको बारेमा चेतना अभिबृद्धि गर्ने काम हुने गरेका छन् । खाद्य तथा पोषण सुरक्षा, रोजगारी र गरिवी न्यूनीकरण तथा व्यापार सन्तुलनमा कृषि क्षेत्रको महत्वपुर्ण योगदान छ । कृषक एवं अन्य सरोकारवालाहरुको आवश्यकता अनुरुप कृषि तथा पशुपंक्षीजन्य बस्तुहरुको उत्पादन तथा उत्पादकत्वमा बृद्धि गरी जनताको आर्थिक स्तरमा सुधार गर्नुका साथै कृषकलाई प्रोत्साहनका लागि विभिन्न व्यापार महोत्सवमा कृषि स्टललाई विशेष प्रथामिकता दिइएको आयोजकहरुले बताउने गर्दछन् । सैनामैनामा जारी तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा कृषिलाई विशेष प्रथामिकता दिइएको आयोजकले जनाएको छ । स्थानीय उत्पादन तथा कृषकहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथमा मेलाले महत्व दिएको छ । व्यापार मेलाले वास्तविक कृषकलाई प्रोत्साहन स्वरुप कृषिका १२ वटा स्टलहरुलाई निशुल्क राखिएको मेलाका कृषि तथा पशुपन्छी प्रविधि संयोजक शिव भुसालले बताए । उनले मेलामा कृषि स्टलका अवलोकन कर्तालाई कृषि तथा पशुपन्छी विज्ञहरु राखी परामर्श समेत गराइएको बताए । स्टलमा रहेका कृषि संग सम्बन्धित नँया कुराहरुको बारेमा जान्न ईच्छुक अवलोकन कर्तालाई विज्ञहरुले परामर्श तथा सुझाव दिएका छन् । कृषि विज्ञ साधु शरण तथा पशुपन्छी विज्ञ भुमिश्वर खनाल भन्छन् – ‘अवलोकन कर्ताले एकदमै रुचिका साथ कृषि सम्बन्धि स्टलका बारेमा सोधपुछ गरेका छन् ।’ कृषि विज्ञ साधु शरणले भने, – ‘उनीहरुको जिज्ञासालाई हामीले सहज तरिकाले बुझाएका छौँ । अवलोकन कर्ता सैनामैना ४ मुर्गिया निवासी बरिष्ठ किसान शेरबहादुर न्यौपाने भन्छन् – ‘स्टलमा रहेका नयाँ कुराहरुको बारेमा जानकारी लिन पाउँदा एकदमै खुसी लाग्योे ।’
महोत्सवमा कृषिमा फलफुल तथा तरकारी, विउ तथा बेर्नाहरु,दुध तथा दुग्धपदार्थ,नर्सरी, माछा पोखरी,मह लगायतका स्टलहरु रहेका छन । स्टलमा नेपालमा लोप हुन लागि सकेको अनदिको धानको बाला,ओल,तरुल,उन्नत जातका केराहरुबाट बनाईएको मोःमो समेत पर्दशनमा समावेश गरिएको आयोजक जनाएको छ । मेलामा पर्दशनमा राखिएको कृषिजन्य बस्तु प्रतिस्पार्धाका आधारमा किसानलाई पुरस्कृत गर्ने योजना समेत मेला आयोजक समितिले बनाएको छ । कृषि संयोजक भुसाल भन्छन्–‘किसानहरुलाई कृषिजन्य उत्पादनको प्रतिस्पर्धाको आधारमा पुरस्कृत गर्ने योजना बनाएको छौँ । ’
मेलामा अष्ट्रिज चराको प्रर्दशन नेपालका विभिन्न ठाउँमा चरा अवलोकनमा रुचि बढ्दो छ । पर्यटकहरुले चासोका साथ चराको अवलोकन गर्ने गरेको पाईन्छ । चराको संरक्षणका लागि विभिन्न कदमहरु पनि अगाडि बढेका छन् । पछिलो दिनमा सबै जसो ठाउँमा चराको अवलोकनर्ताको रुचि बढदै गएको छ । हामी सबैलाई थाहाभएकै कुरा हो, नेपाल एक प्राकृतिक स्रोत साधनले सम्पन्नशाली देश हो । नेपालमा बर्सेनी हजारौँ पर्यटकहरु आउँछन्, उनीहरु मध्ये चरा अवलोकनकै लागि मात्र पनि नेपाल भित्रिने पर्यटकहरु प्रशस्त मात्रमा रहेका छन् ।
सो अवसरमा पशुपन्छीको संरक्षण र अष्ट्रिज चराको महत्वका बारेमा मेला अवलोकन कर्तालाई जानकारी गराउने उद्धेश्यले सैनामैना व्यापार मेलामा अष्ट्रिज चरा पर्दशनमा राखिएको छ । विगतका वर्षमा भन्दा यस वर्ष कृषि तथा पशुपन्छीमा नयाँपन ल्याई विशेष प्रथामिकता दिइएको हो । मेलामा मुख्य आर्कषकको रुपमा लिइएको अष्ट्रिज चरा रुपन्देहीको मद्यौलिया अष्ट्रिज फर्मबाट ल्याई प्रदर्शनमा राखिएको सैनामैना व्यापार संघका महासचिव देवराज पौडेलले बताए । उनले भने, चरा ९० के.जीको रहेको छ । कृषि मध्येका स्टलहरुमा ११ नं स्टलमा रहेको अष्ट्रिजको स्टलमा दशर्ककले एकदमै चासोका साथ चराको अवलोकन गरी फोटो खिच्दै रमाएको समेत महासचिव पौडेलको भनाई छ ।
मेलामा दिन प्रतिदिन दर्शकको संख्या बढ्दैसैनामैना व्यापार मेलामा दर्शकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । आईतबार चौथो दिन सम्म आईपुग्दा करिब २० हजार दर्शकले मेलाको अवलोकन गरेका छन् ,भने १ करोड ५० लाख बराबरको आर्थिक कारोबार भएको संघका सचिव एवं मेलाका प्रचार प्रसार संयोजक दिपेन्द्र ढकालले जानकारी दिए ।आईतबार आधुनिक गायक रमेशराज भट्टराई,लोक तथा दोहोरी गायिका प्रिया भणडारी,नन्दु परियार लगायत राष्ट्रिय तथा स्थानिय कलाहरुले दर्शक माझ गित मार्फत मनोरञ्जन दिलाएका थिए । महोत्सवमा संचालित डान्सिङ आईडल २०७५ मा आईतबार १४ जना प्रतस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् । १७ प्रतियोगी मध्ये उत्कृष्ठ १४ प्रतिस्पर्धी निर्णयकंको अंक र दर्शकको भोटिङको आधारमा अघिल्लो चरणमा प्रवेश गरेको अतिरिक्त क्रियाकलाप संंयोजक देविदत्त सुबदीले जानकारी दिए । मेलामा आईतबार देखी वडास्तरीय दोहोरी गित प्रतियोगिता सुरु भएको छ । स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्ने उद्धेश्यले दोहोरी प्रतियोगिताको आयोजना गरिएको हो । आईतबार देखि सुरु भएको वडा स्तरीय दोहोरी गीत प्रतियोगितामा वडा नं २ र ३ का बिचमा भएको प्रतिस्पर्धात्मक घम्साघम्सी दोहोरीमा वडा नं २ विजयी भएको सुबेदीले बताए । मेलामा सोमबार वडा स्तरीय दोहोरी गीत प्रतियोगितामा वडा नं ४ र वडा नं १० का बिचमा दोहोरी प्रतियोगिता हुनेछ । सोमबारदेखि खुल्ला भलिबल प्रतियोगिता समेत हुने सुबेदीले जानकारी दिए । व्यापार मेलामा सोमबार जनगायक जिवन शर्मा,लोक तथा दोहोरी गायक बसन्त थापा,गायिका रुपा जि.एम,स्थानिय कलाकार शुरेश परियार लगायतको बेजोड प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक पिताम्बर न्यौपाने (धर्म) ले बताए ।
देश निर्माणमा व्यापारको आवश्यकता व्यवसायिक हित संगै सामाजिक एकता भन्ने मुल नाराका साथ संचालन भईरहेको सैनामैना औद्योगिक व्यापार मेला कार्तिक १८ गते सम्म संचालन हुनेछ छ ।